मुख्य सामग्रीमा जानुहोस्

एक घर एक रुख अभियानअन्तर्गत बिरगञ्जमा चार सयभन्दा बढी बिरुवा रोपियो

बिरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसमा 'एक घर, एक रुख' अभियानअन्तर्गत चार सयभन्दा बढी बिरुवा वितरण गरी रोपिएको छ। यो अभियान हरित शहर सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा भएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

बिरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसमा 'एक घर, एक रुख' अभियानअन्तर्गत चार सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण र रोपण गरिएको छ। हरित शहर सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको एक हिस्सा थियो।

कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वातावरण संरक्षण, सहरी हरियाली र जलवायु परिवर्तन न्यूनीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस अभियानमा विद्यार्थीहरूलाई आ-आफ्नो घरमा कम्तीमा एउटा बिरुवा रोप्न र त्यसको उचित हेरचाह गर्न प्रोत्साहित गरिएको थियो।

कार्यक्रमको अध्यक्षता हरित शहर सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बिरगञ्जस्थित भारतीय महावाणिज्य दूत देवीसहाय मीना उपस्थित थिए। कार्यक्रममा बिरगञ्ज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी क्याम्पसका अध्यक्ष रामावतार खेतान, समाजसेवी सुरेश रूङ्टा, पर्सा जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रमल्ला, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरीक्षक विक्रम सुवेदी तथा युवा कार्यकर्ता दिलीप कार्की लगायतको सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै जयप्रकाश खेतानले वातावरण संरक्षण आजको सबैभन्दा जरुरी आवश्यकता भएको बताए। उनले बिरुवा रोप्ने तर नियमित हेरचाह नगर्ने प्रवृत्तिले अभियानको उद्देश्य पूरा नहुने धारणा राखे। प्रमुख अतिथि मीनाले यस किसिमका पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै युवाहरूलाई प्रकृति संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे। वक्ताहरूले सफा र हरित शहर निर्माणका साथै सामुदायिक प्रहरी र स्थानीय बासिन्दाबीचको सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको समापनमा चार सयभन्दा बढी बिरुवा वितरण गरी क्याम्पस परिसरमा सामूहिक रूपमा वृक्षारोपण गरिएको थियो।