देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकै अवस्थामा आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली हुनेछ।
आज बिहानसम्मको अवस्था हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ। यसैगरी लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मौसम प्रायः सफा रहेको महाशाखाले उल्लेख गरेको छ।
तराईतिर भने केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिनभरिको पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
चट्याङ र हिमपातको सम्भावना
देशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले देखाएको छ। त्यसबाहेक देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।
मौसम सफा रहे पनि उच्च हिमाली तथा पहाडी क्षेत्रमा बादल र हिमपातको सम्भावना रहेकाले त्यस्ता स्थानमा आवतजावत गर्नेले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।







