देशमा पश्चिमी वायुको आंशिक प्रभाव विद्यमान रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईको मौसम प्रायः खुला रहनेछ।
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना महाशाखाले औंल्याएको छ। रातिको समयमा पनि ती दुई प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली कायम रहने र देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आकाश प्रायः सफा रहने पूर्वानुमान छ।
बिहानपख तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
शनिबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ। सो दिन देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।







