मुख्य सामग्रीमा जानुहोस्

प्रधानमन्त्री बालेन शाहसँग चिया उद्योगीको भेट : निर्यात अवरोध र समाधानबारे छलफल

प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग भेटेर उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्ने भएका छन्। भारतको नयाँ गुणस्तर परीक्षण प्रणालीले नेपाली चिया निर्यात अवरुद्ध हुँदा इलाम र झापाका दर्जनौं उद्योग बन्द…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

७ साउन, काठमाडौं । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रगाढ बनाउँदै प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा चिया क्षेत्रले भोग्दै आएका चुनौती र तिनको समाधानका उपायबारे छलफल हुनेछ।

प्रधानमन्त्री बालेनले पछिल्लो समय विभिन्न व्यवसायिक संघसंस्था र उद्यमीसँग निरन्तर भेटघाट गर्दै आएका छन्। हिजो मात्रै उनले हस्तकला महासंघका प्रतिनिधिहरूसँग भेटेका थिए भने यसअघि उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघलगायतसँग पनि छलफल गरिसकेका छन्। यी अधिकांश भेटमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरू भने सहभागी थिएनन्।

आजको भेटका लागि प्रधानमन्त्रीले अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीलगायतका अध्यक्ष तथा प्रतिनिधिहरूलाई बोलाएका छन्। उनीहरूले चिया उद्योगको वर्तमान अवस्था, विशेषगरी भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण सिर्जिएको समस्या र त्यसको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुन्छ। भारतले हालै लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण नेपाली चियाको निर्यात करिब दुई महिना अवरुद्ध भएको थियो। सो अवरोधका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुन पुगेका थिए भने ती उद्योगमा निर्भर हजारौं कामदार पनि प्रभावित भएका थिए। प्रधानमन्त्री कार्यालयले आजको भेटमा यी विषयमा गम्भीर छलफल हुने जनाएको छ।