मुख्य सामग्रीमा जानुहोस्

तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या, मोरङमा करेन्ट लागेर अर्कीको मृत्यु

तेह्रथुम र मोरङमा दुई फरक घटनामा दुई महिलाको मृत्यु भएको छ। तेह्रथुममा एक पुरुषले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् भने मोरङमा घरायसी मेसिनको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

तेह्रथुमको आठराई नगरपालिका–६ सिमखर्कमा एक महिलाको हत्या भएको छ। स्थानीय ५१ वर्षीया रूपा लिम्बूको गएराति हत्या भएको प्रहरीले जनाएको छ।

गएराति करिब ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्ण बहादुर लिम्बूले रूपा लिम्बूको घाँटीमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। घटनास्थलमै उनको मृत्यु भएको थियो। प्रहरीले कृष्ण बहादुर लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ। खुकुरी प्रहारको कारण खुल्न सकेको छैन।

मोरङमा करेन्ट लागेर मृत्यु

यसैगरी, मोरङको उर्लाबारी नगरपालिका–४ खुर्सानी बारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया पवित्रा बास्तोला रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनबाट हिजो साँझ सवा ६ बजे उनलाई करेन्ट लागेको थियो। उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उनको मृत्यु भएको प्रहरीले बताएको छ।