काठमाडौं । एप्पल, गुगल भेन्चर र वालमार्टजस्ता विश्वविख्यात कम्पनीहरूमा काम गरेका नेपाली युवा दिलिप ढकालले सिलिकन भ्यालीको आरामदायी जागिर छोडेर आफ्नै प्रविधि कम्पनी 'भिल' स्थापना गरेका छन्। एप्पलमा डिजाइन एन्ड डेभलपमेन्ट इन्जिनियरको भूमिकामा रहेका उनले विश्वस्तरीय ब्रान्ड बनाउने सपनालाई पछ्याउँदै यो कम्पनी सुरु गरेका हुन्।
भिलको सुरुवात सन् २०२२ को डिसेम्बरमा भएको थियो, जतिबेला दिलिप लस एन्जलस एयरपोर्टमा उडानको पर्खाइमा थिए। त्यहाँ एक जना कन्टेन्ट क्रिएटरसँग भएको अनौपचारिक कुराकानीले उनलाई क्रिएटर इकोनोमीमा ठूलो अवसर रहेको महसुस गरायो। विश्वभर यो बजार २ खर्ब ५० अर्ब डलरभन्दा ठूलो भइसकेको थियो, तर क्रिएटर र ब्रान्डलाई जोड्ने एकीकृत प्रविधि थिएन।
बुटस्ट्र्याप यात्रा
दिलिपले एप्पलको जागिर तुरुन्त नछोडी बजार अनुसन्धान गरे। सान फ्रान्सिस्कोको रिसर्च फर्मसँग मिलेर अध्ययन गरेपछि उनले भेन्चर क्यापिटलहरूलाई भेट्न थाले। धेरैले आइडिया राम्रो भए पनि कार्यान्वयन कठिन भन्ने सुझाव दिए। तर दिलिप पछि हटेनन्। अघिल्ला दुई स्टार्टअपको कोर टिममा रहेको अनुभव र एप्पलमा ठूलो टिम हाँकेको अनुभवले उनलाई आत्मविश्वास दियो। उनले बाह्य लगानी नलिई आफ्नै बचत र अघिल्लो कम्पनीको इक्विटीबाट आएको पैसाले कम्पनी सुरु गरे। भिललाई उनले ‘बुटस्ट्र्याप’ कम्पनीको रूपमा अघि बढाएका छन्।
नेपालमा टिम निर्माण
सन् २०२३ को सुरुमा दिलिपले एप्पलबाट एक महिनाको छुट्टी लिएर काठमाडौं आए। नेपालमा प्राविधिक टिम तयार गर्ने उद्देश्य थियो। अमेरिकाको तुलनामा खर्च कम हुने र आफ्नै देशका इन्जिनियरलाई काम दिएर विश्वस्तरीय प्रविधि इकोसिस्टम बनाउन सकिने उनको योजना थियो। काठमाडौंमा अफिस खोलिए पनि मुख्य कार्यालय अमेरिकामै रह्यो। सुरुका केही महिना नेपाली टिमलाई कम्पनीको पूर्ण परिचय दिइएको थिएन; उनीहरूलाई भिडियो टेक्नोलोजी र इन्जिनियरिङमा तालिम दिने काम भयो। दिलिपले ओपन एआईका इन्जिनियरहरूलाई पनि जोडेर काठमाडौंका ब्याकइन्ड इन्जिनियरलाई प्रशिक्षण दिलाए।
विश्वव्यापी विस्तार र नाफा
करिब १५ महिनाको मिहिनेतपछि सन् २०२४ को अप्रिल ८ मा भिल विश्वव्यापी रूपमा लन्च भयो। आज यसमा १४० भन्दा बढी पूर्णकालीन कर्मचारी छन्, जो नेपाल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका र अमेरिकामा फैलिएका छन्। करिब ५०० ब्रान्ड र साढे पाँच लाखभन्दा बढी क्रिएटर यस प्लेटफर्ममा जोडिएका छन्। हाल कम्पनी पूर्ण रूपमा नाफामा छ। दिलिपले भिललाई ‘युनिकर्न’ कम्पनी बनाउने सपना देखेका छन्।
भिलले हालै नेपाल र भारतको बजारलाई लक्षित गर्दै काठमाडौंमा ‘भिल प्राइभेट लिमिटेड’ नामको सब्सिडिएरी कम्पनी दर्ता गरेको छ। असारमा अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमले नेपाल तथा भारत ‘अपरेसन’को औपचारिक शुभारम्भ गरेका थिए। यसले दक्षिण एसियाली बजारमा एआई–आधारित क्रिएटर मार्केटिङ पूर्वाधार खडा गरेको छ। स्थानीय क्रिएटरहरूले अब स्वदेशी तथा ४५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष सहकार्य गर्न सक्नेछन्। दिलिपका अनुसार नेपालमा भुक्तानी प्रक्रियालाई सहज बनाउन स्थानीय बैंक तथा वालेटसँग साझेदारी गरिएको छ, जसले क्रिएटरहरूलाई सोझै पैसा लिन मिल्ने बनाएको छ।
