काठमाडौं । अमेरिकामा बस्ने नेपाली कम्प्युटर इन्जिनियर तेज बिनोदको नयाँ तीज गीत ‘नाचे सुहाउँछ’ सार्वजनिक भएको छ । नेपाली गीत संगीतप्रति गहिरो माया राख्ने तेज बिनोदले पछिल्लो एक वर्षमा मात्र ४ वटा गीत निकालेका छन् । उनीसँग हाल करिब २०० भन्दा बढी गीतहरू तयार रहेको बताइएको छ ।
गीतमा गायक तेज बिनोद र गायिका शान्ता रानी परियारको स्वर छ भने शब्द र संगीत पनि तेज बिनोदकै हो । संगीत संयोजन कृष्ण केसीले गरेका छन् । सुधिर श्रेष्ठ र जाहन्वी बस्नेतको आकर्षक अभिनय तथा नृत्य रहेको यस भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका छन् । नृत्य निर्देशन दावा बल तामाङले गरेका छन् भने छायांकन प्रकाश खड्का र उनको टोलीले गरेको हो ।
‘ नाचे सुहाउँछ’ बोलको यो तीज गीतमा तीजको रौनक, नारीको सुन्दरता र नृत्यको जोशलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । “घुमेर नाचे सुहाउँछ, फनफनि नाचे सुहाउँछ, तीजमा नाचे सुहाउँछ” जस्ता आकर्षक लाइनहरूले गीतलाई अझ मनमोहक बनाएका छन् ।
यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको हो । मिक्सिङ र मास्टरिङ कुमार रानाले गरेका छन् । तेज बिनोद अफिसियल २०२६ मार्फत सार्वजनिक गरिएको यो भिडियोले छोटो समयमै धेरै दर्शकको ध्यान तानेको छ र तेज बिनोदका गीतहरूमध्ये अत्यधिक हेरिएको गीतहरूको सूचीमा पर्ने अपेक्षा गरिएको छ ।
तीजको अवसरमा रिलिज भएको यो गीतले नेपाली संस्कृति र संगीतलाई विदेशमा बस्ने नेपालीहरूका बीच पनि लोकप्रिय बनाउन सहयोग गर्ने छ भन्ने निर्माण पक्षको विश्वास छ ।

