नेपाली कांग्रेसले भारतीय जेलमा थुनिएका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार कांग्रेसका केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको ध्यानाकर्षणपत्रमा सर्लाही बलराका किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई भारतीय जेलबाट रिहा गर्न माग गरिएको छ ।
उक्त पत्रमा भनिएको छ, ‘बजारमा समयमै रासायनिक मल नपाएपछि सर्लाही बलराका यी दुई कृषक सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका छन् ।’
कांग्रेसले विगत २० दिनदेखि बिहारको सीतामढी, डुमरास्थित भारतीय जेलमा उनीहरू रहेको तथ्य बाहिर आएपछि परिवार र स्थानीय समुदायसँग जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गरेको पत्रमा उल्लेख छ ।
दु:खद अवस्था
कांग्रेसले उक्त घटनालाई ‘मल गोदाममा, किसान जेलमा’ भन्दै विडम्बनापूर्ण बताएको छ । पत्रमा भनिएको छ, ‘ती किसान दाजुभाइ आफ्नो खेतमा प्रयोग गर्नको लागि मल लिन जानुभएको रहेछ । किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सरकारले तत्काल कूटनीतिक र कानुनी प्रक्रिया मार्फत् उनीहरूको रिहाइको पहल लिन कांग्रेसले आग्रह गरेको छ । साथै, भारत सरकारलाई पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता र खुला सीमालाई ध्यानमा राखी मात्र आफ्नो खेतीका लागि मल खरिद गर्ने किसानलाई तुरुन्त रिहा गर्न अपिल गरिएको छ ।
