भारतमा नीट (NEET) परीक्षाको प्रश्नपत्र लिकको घटनाले उत्पन्न विवादले ठूलो आन्दोलनको रूप लिएको छ। कक्रोच जनता पार्टीको आह्वानमा भइरहेको प्रदर्शनमा ठूलो संख्यामा युवा तथा नागरिक समाज सहभागी भएको छ। आन्दोलनले नरेन्द्र मोदीको सत्तालाई थकाउन थालेको छ।
सर्वोच्च अदालतका प्रधानन्यायधीशले युवाहरूलाई निष्क्रिय बस्ने कक्रोचसँग तुलना गरेपछि व्यङ्ग्यात्मक प्रत्युत्तरको रूपमा अभिजित दीपकेले कक्रोच जनता पार्टी (सीजेपी) स्थापना गरेका थिए। पहिले सामाजिक सञ्जालमा मात्र सीमित यो पार्टी नीट प्रश्नपत्र लिकको घटनापछि सडकमा उत्रिएको छ।
आन्दोलनको पृष्ठभूमि
२०८१ मे ३ मा भएको नीट परीक्षामा झन्डै २३ लाख विद्यार्थी सहभागी थिए। राजस्थान पुलिसको अनुसन्धानमा प्रश्नपत्र हुबहु बाहिरिएको पुष्टि भयो, जसपछि सरकारले परीक्षा रद्द गर्यो। परिणामस्वरूप ११ जना परीक्षार्थीले आत्महत्या गरे। यस घटनाले युवामा व्यापक आक्रोश फैलाएको छ।
युवा आक्रोशलाई एकीकृत गर्दै सीजेपीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर–मन्तरमा अनिश्चितकालीन प्रदर्शन सुरु गरेको छ। प्रसिद्ध युट्युबर ध्रुव राठीले पनि शिक्षामन्त्रीको राजीनामालाई प्रमुख मुद्दा बनाउनुपर्ने बताएका थिए।
सोनाम वाङचुकको भोक हड्ताल
लद्दाखका शिक्षा तथा वातावरण अभियन्ता सोनाम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै अनिश्चितकालीन भोक हड्ताल सुरु गरेका थिए। २८ जुनदेखि नुन–पानीको भरमा अनशन बसेका वाङचुकको स्वास्थ्य गम्भीर बनेपछि उनलाई सफदरजंग अस्पताल भर्ना गरिएको छ। अस्पतालको शय्याबाटै उनले हड्ताल जारी राख्दै आफ्ना माग पूरा गर्न आश्वासन दिए मात्र अनसन तोड्ने बताएका छन्।
वाङचुकले अस्पतालबाटै पत्र जारी गर्दै पेपर लिकपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति, शिक्षामन्त्रीको राजीनामा र संसद्मा सार्थक छलफलको माग गरेका छन्।
प्रहरी दमन र प्रतिक्रिया
जन्तर–मन्तरमा बढ्दो भिडलाई नियन्त्रण गर्न प्रहरीले तीन तहको ब्यारिकेडिङ गरेको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा लाठीचार्ज र अश्रुग्याँस प्रयोग गरिएको बताइएको छ। सोसल मिडियामा सार्वजनिक भिडियोमा प्रहरीले केही प्रदर्शनकारीमाथि निर्मम व्यवहार गरेको देखिन्छ। दिल्लीबाहिर पटनामा पनि यस्तै दमन भएको छ।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनल इन्डियाकी बोर्ड चेयरपर्सन आकार पटेलले शान्तिपूर्ण विरोधको आवाज दबाइएको बताएकी छन्। सर्वोच्च अदालतले भने प्रहरी दमनविरुद्धको याचिकामा सुनुवाइ गर्न अस्वीकार गरेको छ।
बलिउड हस्ती, हास्यकलाकार, पत्रकार तथा बुद्धिजीवीहरूले दमनको व्यापक आलोचना गरेका छन्। विपक्षी दल पनि आन्दोलनसँग जोडिँदै गएको छ। कांग्रेस प्रवक्ता एवं राज्यसभा सांसद पवन खेडाले प्रदर्शनकारीलाई भेटेर शान्तिपूर्ण विरोधको संवैधानिक अधिकारको समर्थन गरेका छन्।
केन्द्रीय मन्त्री जेपी नड्डाले सीजेपी प्रवक्ता सौरभ दाससँग भेटेर मागपत्र बुझेको भए पनि सरकारले कुनै प्रतिबद्धता जनाएको छैन। प्रवक्ता दासले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
