७ साउन, लन्डन (रासस/एएफपी) । जुन महिनामा बेलायतमा परेको अभूतपूर्व गर्मीको लहरले अर्थतन्त्रलाई ठूलो धक्का दिएको छ। नयाँ अध्ययनअनुसार अत्यधिक गर्मीका कारण करिब २ करोड ४० लाख कार्यघण्टा गुम्दा अर्थतन्त्रले १ अर्ब १५ करोड पाउन्ड (करिब १ अर्ब ५० करोड अमेरिकी डलर) बराबरको क्षति बेहोरेको छ।
अध्ययनका मुख्य निष्कर्ष
लन्डन स्कुल अफ इकोनोमिक्सको ग्रान्थम रिसर्च इन्स्टिच्युट र युरो-मेडिटेरेनियन सेन्टर अन क्लाइमेट चेन्ज (सीएमसीसी) ले संयुक्त रूपमा गरेको अध्ययनले विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको देखाएको छ। निर्माण र कृषि क्षेत्रमा कार्यरत कामदारले गर्मीका कारण आफ्नो काम गर्ने समय उल्लेखनीय रूपमा घटाएको अध्ययनमा उल्लेख छ। तुलनात्मक रूपमा कम शारीरिक श्रम हुने पेशामा भने यो प्रभाव कम देखियो।
अध्ययनअनुसार जुन २२ परेको साता कामदारहरूले औसतमा ०.४७ घण्टा कम काम गरे। त्यसै साता करिब १२ लाख ५० हजार कामदार (३.६ प्रतिशत) अत्यधिक गर्मीका कारण काममा उपस्थित हुन सकेनन्। अनुसन्धानकर्ताहरूले काम गर्ने समय, निद्राको गुणस्तर र कार्यस्थलसम्म पुग्ने क्रममा गर्मीले पारेको प्रभावसमेत अध्ययन गरेका थिए।
स्वास्थ्य समस्या र पूर्वाधारको चुनौती
अध्ययनमा सहभागी अधिकांश उत्तरदाताले निद्रामा अवरोध, कामका क्रममा थकान, चक्कर लाग्ने, बेहोस हुने र मुटुको धड्कन असामान्य रूपमा बढ्ने जस्ता स्वास्थ्य समस्या अनुभव गरेको बताए। गत जुनमा बेलायतसँगै फ्रान्स र अन्य युरोपेली मुलुकहरूले पनि असाधारण गर्मीको सामना गर्नुपरेको थियो। यसले यातायात सेवा, विद्यालय र अस्पतालको नियमित सञ्चालनमा समेत अवरोध पुर्यायो। अत्यधिक गर्मीसँग जुध्न पूर्वाधार पर्याप्त नरहेको विषयमा चिन्ता व्यक्त गरियो।
विज्ञको चेतावनी
ग्रान्थम रिसर्च इन्स्टिच्युटकी निर्देशक एलिजाबेथ रोबिन्सनले अध्ययनले बेलायत परिवर्तनशील जलवायुसँग पर्याप्त रूपमा अनुकूल हुन नसकेको स्पष्ट देखाएको बताइन्। उनले सरकारले चरम गर्मीको जोखिमलाई अब बेवास्ता गर्न नसक्ने उल्लेख गर्दै तत्काल प्रभावकारी तयारी र अनुकूलनका उपाय अघि बढाउन आग्रह गरिन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसमी घटना झन् बारम्बार र तीव्र बन्दै गएको चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा इङ्गल्यान्डले यस वर्षको जुन महिनालाई आफ्नो इतिहासकै सबैभन्दा तातो जुनका रूपमा अभिलेख गरेको छ।
