मुख्य सामग्रीमा जानुहोस्

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको तस्वीर

सरकारले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन तयार पारेको छ, जसमा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिएको छ। यसअघि मुस्ताङको घार गुम्बा अंकित डिजाइन फिर्ता भएको थियो। उत्पादन लागत घटाउन सिक्काको तौल र आकार परिमार्जन गरिने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सरकारले एक रुपैयाँको सिक्काको डिजाइन परिमार्जन गर्दै चुच्चे नक्सा र आकाश भैरवको तस्वीर समावेश गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार, मन्त्रिपरिषद्ले उक्त डिजाइन स्वीकृत गरेपछि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंकमा पठाइसकिएको छ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बा अंकित डिजाइन स्वीकृतिका लागि पठाएको थियो, तर मन्त्रिपरिषद्ले त्यसलाई फिर्ता गरिदिएको थियो। सरकारले राष्ट्र बैंकलाई प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव ल्याउन निर्देशन दिएको थियो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्कामा नेपालको नक्सा कायमै रहने छ। उनले भने, 'नेपालको नक्साबिना नयाँ सिक्काको डिजाइन बन्दैन भन्ने कुरा मेरो जानकारीमा आएको छ। तर, तौल र आकारमा परिवर्तन गरिँदैछ।'

हालको एक रुपैयाँको सिक्का उत्पादन गर्दा त्यसको मूल्यभन्दा बढी लागत पर्ने भएकाले तौल र आकार घटाउन लागिएको पौडेलले बताए। उनका अनुसार सिक्कामा प्रयोग भइरहेको मिश्रित धातुलाई परिवर्तन गरी स्टिल मात्रै राख्ने तयारी छ, जसले उत्पादन लागत घटाउनुका साथै वातावरणीय हिसाबले पनि उपयुक्त हुनेछ।

पौडेलले सिक्कामा रहने ६४ वटा थोप्ला (योगिनीको प्रतिक) को सांस्कृतिक महत्वबारे पनि चर्चा गरे। उनले भने, 'सिक्कामा हुने तस्वीरको सांस्कृतिक महत्व हुन्छ। सिक्का आफैंमा ऐतिहासिक चिज मानिन्छ। सिक्कामा प्रयोग हुने चिजले विशेष अर्थ राख्छन्।'