मुख्य सामग्रीमा जानुहोस्

याम्पाफाँटका १५ किसान दूध बिक्रीका आधारमा पुरस्कृत

बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान दूध बिक्रीका आधारमा पुरस्कृत भएका छन्। सहकारीमार्फत सबैभन्दा धेरै दूध बेच्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल पहिलो स्थानमा परेका छन्। सहकारीले गत आर्थिक वर्षमा १४…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
याम्पाफाँटका १५ किसान दूध बिक्रीका आधारमा पुरस्कृत
Nagariknetwork

बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान दूध बिक्रीका आधारमा पुरस्कृत भएका छन्। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत भएको दूध बिक्रीलाई आधार मानी उत्कृष्ट किसान छनोट गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले बताए।

सहकारीमार्फत सबैभन्दा धेरै दूध बेच्ने किसानको सूचीमा नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल पहिलो स्थानमा रहे। उनको बिक्री ८९ हजार १२८ लिटर रहेको सहकारीले जनाएको छ। दोस्रो स्थान व्यावसायिक किसान काशीनाथ भट्टराईले ५१ हजार ८१२ लिटर दूध बेचेर प्राप्त गरेका छन् भने ४४ हजार ४४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो स्थानमा परेका छन्।

यसैगरी छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ र ओमप्रसाद लामिछाने सातौँ स्थानमा रहे। इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराई दसौँ स्थानमा परेको अध्यक्ष भट्टराईले जानकारी दिए।

एघारौँदेखि पन्ध्रौँ स्थानसम्म क्रमशः मुना न्यौपाने, सानुमाया सुनार, टकराज लामिछाने र इन्दिरा घिमिरे तथा १८ हजार १८४ लिटर दूध बिक्री गरेका ओमप्रकाश गुरुङ रहेका छन्। पुरस्कृत किसानलाई ३ हजारदेखि ११ हजार रुपैयाँसम्म नगद पुरस्कार दिइएको उनले बताए।

१७ करोडभन्दा बढीको कारोबार

सहकारीले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरेको र त्यसबाट १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको अध्यक्ष भट्टराईले जानकारी दिए।

पशुपालनका हिसाबले महत्वपूर्ण केन्द्र मानिने याम्पाफाँटका किसान लामो समयदेखि व्यावसायिक पशुपालनमा सक्रिय छन्। दूध उत्पादनलाई आम्दानीको मुख्य स्रोत बनाउँदै आएका उनीहरूले स्थानीय अर्थतन्त्र र कृषि उद्यमलाई टेवा पुर्‍याउँदै आएको सहकारीले जनाएको छ।