असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेको राहुघाट जलविद्युत् आयोजनाले ११ दिनभित्र मर्मतसम्भार सकेर विद्युत् उत्पादन पुनः सुरु गरेको छ । आयोजनाको २० मेगावाट क्षमताको एउटा युनिट बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
बाढीका कारण आयोजनाको विद्युतगृह डुबानमा परेको थियो । त्यसबाहेक महत्वपूर्ण संरचना र उपकरणमा पनि क्षति पुगेको थियो । आवश्यक मर्मत तथा प्राविधिक काम टुंगिएपछि एक युनिटबाट उत्पादन थालिएको आयोजनाले जनाएको छ ।
टेलरेस गेटबाट भित्र छिरेको पानी
विद्युतगृहबाट उत्पादन भएपछि पानी कालीगण्डकीमा फर्काउन प्रयोग हुने टेलरेस गेट बाढीले बिगारेको थियो । सोही गेटबाट पानी विद्युतगृहभित्र पसेर डुबान भएको थियो ।
यसका कारण भर्खरै निर्माण सकिएर परीक्षणका रूपमा उत्पादन थालेको आयोजना बन्द हुन पुगेको थियो ।
विद्युतगृहभित्र जमेको पानी हटाएर बाढीले क्षति पुर्याएका संरचना तथा उपकरणको मर्मत गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।
११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरिएको र अर्को युनिट पनि चाँडै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।
राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुई युनिट छन् । आयोजनामा उत्पादित बिजुली कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा पठाइएको छ ।






