काठमाडौं, साउन १९। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्न पुगेका बैंकरहरूले कर्जा दिने र लिने दुवै पक्षमाथि धरपकड नगर्ने वातावरण बनाए कर्जा विस्तार सम्भव रहेको सुझाव दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा करिब तीन घण्टा चलेको छलफलमा बैंकरहरूले व्यावसायिक वातावरण सुधारका लागि सरकार गम्भीर हुनुपर्ने बताएका थिए।
नेपाल बैंकर एशोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार अर्थमन्त्रीले ब्याजदर न्यून रहे पनि कर्जाको माग किन बढेन भनेर प्रश्न गरेका थिए। त्यसपछि अर्थमन्त्रालयबाट हुन सक्ने सहजीकरणबारे बैंकरहरूले आआफ्ना धारणा राखे। छलफलमा प्रत्येक बैंकरलाई करिब पाँच मिनेटको समय दिइएको थियो।
बैंकरले उठाएका सवाल
कोइरालाले वर्तमान व्यावसायिक वातावरण सुधार हुन नसकेको बताउँदै उद्योगी तथा व्यवसायीमाथि भइरहेको धरपकड र छापामारीले लगानीको सम्भावना कम हुने जिकिर गरे। उनका अनुसार घटनाक्रमको गम्भीरताप्रति सरकारले सोच्न जरुरी छ।
“उद्योगपति र व्यवसायीहरू सबै डराउने अवस्था आएपछि बैंकहरूलाई कसलाई कर्जा दिने भन्ने अन्योल हुन्छ,” कोइरालाले अर्थमन्त्रीसमक्ष राखेको समस्याबारे जानकारी दिए। उनले कर्जा दिने र लिने दुवै पक्षलाई पक्राउ गरी जेल हाल्ने प्रवृत्तिले बैंकरहरू समेत डराएको बताए। आफूहरूले गल्ती गरेको अवस्थामा मात्र कारबाही हुनुपर्नेमा कुनै आपत्ति नरहेको तर निर्दोष व्यवसायीसमेत आतंकित हुने गरी गरिने कारबाहीले बैंकिङ कारोबार नै प्रभावित हुने उनको भनाइ छ।
बैंकरहरूले कर्जा असुलीमा आएको समस्या, घरबाटो सिफारिस नपाइने अवस्था, कालोसूची कायम गर्ने प्रक्रिया र कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) लगायतका विषयमा पनि अर्थ मन्त्रालयको सहजीकरण खोजेका थिए।
जलविद्युत् र पूर्वाधारमा आशा
छलफलमा बैंकरहरूले जलविद्युत् क्षेत्रमा आएको सुधारप्रति आशा व्यक्त गर्दै विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियामा सहजीकरण गर्न आग्रह गरे। सरकारको १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेकाले बैंकहरूले सो क्षेत्रमा कर्जा लगानी गर्न तयार रहेको कोइरालाले बताए। यसका लागि नेपाली लगानीकर्ता र अनिवासी नेपालीहरू समेत आकर्षित भइरहेको उनले जानकारी दिए।
त्यसैगरी बैंकरहरूले ठूला आयोजनाको ठेक्का प्रक्रिया छिटो अघि बढाउनु पर्ने सुझाव दिए। यसबाट रोजगारी सिर्जना हुने र कर्जाको माग बढ्ने भएकाले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उनीहरूको भनाइ छ। निर्माण गतिविधि बढ्ने हो भने सिमेन्ट र स्टिल उद्योगले समेत गति लिने कोइरालाले बताए।
अर्थमन्त्री वाग्लेले क्रेडिट क्षेत्रको वृद्धिबिना मुलुकको अर्थतन्त्र अघि नबढ्ने बताएका थिए। बैंकहरूको मुख्य भूमिका रहने उल्लेख गर्दै उनले आवश्यक सहयोग र सहजीकरण गर्ने आश्वासन दिए। अर्थ मन्त्रालयले सहजीकरण गरे कर्जा विस्तार हुने र बजेटको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने बैंकरहरूको विश्वास छ। छलफलमा सरकारलाई सहयोग गर्न बैंकरहरू तयार रहेको सन्देश समेत दिइएको कोइरालाले बताए।
