धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस तथा स्थानीय मौलिक पर्व बाडाङ्मीका अवसरमा गाउँभरि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गाउँ कार्यपालिकाको बैठकले यससम्बन्धी निर्णय गरेको र त्यसअनुसार तीन दिन बिदा हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोसुना कोइरालाले जानकारी दिएकी छन् ।
गाउँपालिकाका अनुसार कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवसका अवसरमा बिदा दिइने छ । विसं २०३६ सालमा तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्लामा भएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय सहिदहरूको सम्झनामा यो दिन बिदा तोकिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, आँखिसल्ला, खोकु र छिन्ताङ क्षेत्रमा बसोबास गर्ने राई समुदायले विशेष रूपमा मनाउने मौलिक पर्व बाडाङ्मीका लागि मंसिर १३ र १४ गते पनि स्थानीय बिदा रहने छ ।
बिदाका दिन गाउँपालिकासहित वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सरकारी तथा गैरसरकारी संघसंस्थाहरू बन्द रहने गाउँपालिकाले स्पष्ट पारेको छ ।
सहिदभूमि गाउँपालिका ऐतिहासिक सहिदहरूको बलिदानसँगै राई समुदायको मौलिक संस्कृति र परम्परासँग पनि जोडिएको क्षेत्र मानिन्छ । सहिदहरूको योगदानको सम्मान र स्थानीय पर्वको संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष यस्ता अवसरमा बिदा दिँदै आएको जनाएको छ ।







