मंगलबार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरेका छन् । उनले ग्यास आयात नियमित भइरहेको र आपूर्तिमा कुनै कमी नरहेको बताए । अभाव देखिनुको मुख्य कारण उपभोक्ताको सञ्चय गर्ने प्रवृत्ति र वितरण प्रणालीको कमजोरी रहेको उनको भनाइ छ ।
बरालले विगतमा ७.१ किलोको आधा सिलिन्डर वितरण हुँदा उपभोक्ताले खासै रुचि नदेखाएको स्मरण गराए । अहिले १४.२ किलोको पूर्ण सिलिन्डर बजारमा आउन थालेपछि घरमा राखिएका खाली सिलिन्डर एकैपटक भर्न खोज्दा कृत्रिम चाप परेको उनको दाबी थियो । टेकुमा एउटै व्यक्ति साइकलमा पटकपटक आएर ग्यास लगेको दृष्टान्त समेत उनले सांसदहरूसामु राखे ।
निगमको टेकु कार्यालयबाट पछिल्लो तीन दिनमा जम्मा २ हजार १ सय सिलिन्डर बिक्री भएको तथ्यांक प्रस्तुत गर्दै उनले बजारमा ग्यासको हाहाकार भएको हल्ला सत्य नभएको बताए । लाइनमा बसेका सर्वसाधारणको भीडलाई उनले मिडिया कभरेजसँग जोडेर व्यंग्य गरेका थिए ।
उपभोक्ताको दैनिक सास्ती
निगमको दाबीको विपरीत काठमाडौंका उपभोक्ता भने ग्यासका लागि दैनिक सास्ती खेपिरहेका छन् । खुसिबुका भरत मगरको घरमा १८–१९ दिनदेखि ग्यास छैन । नजिकको डिलरमा पटकपटक धाउँदा पनि ग्यास नपाएपछि उनले पानी तताउने इलेक्ट्रिक भाँडोमै दाल, भात र तरकारी पकाएर परिवारको छाक टार्नुपरेको बताए । टेकुको वितरण केन्द्रमा खबर पाएर आज उनी खाली सिलिन्डर बोकेर घाममा लाइन बसेका थिए ।
शंखमुलकी विश्वमाया पराजुली पनि बिहानैदेखि ग्यासका लागि टेकु आइपुगेकी थिइन् । घरमा प्रयोग भइरहेको त्रिवेणी ब्रान्डको ग्यास सकिएपछि नजिकको डिलरले नपाइने जवाफ दिएको उनले बताइन् । अर्को विकल्प नभएपछि उनी ट्याक्सी चढेर टेकु आएकी थिइन् । एकतर्फी ट्याक्सी भाडा मात्रै ३ सय रुपैयाँ परेको उनको भनाइ छ । ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ हुँदा उनलाई घर पुर्याउँदासम्म २ हजार ६ सय ६० रुपैयाँ खर्च भएको उनले सुनाइन् । डिलरले चिनेजानेकालाई भने लुकाएर ग्यास दिने गरेको उनको आरोप छ ।
बागबजारका विद्यार्थी निराजन कुँवरको कोठामा पनि ग्यास सकिएको छ । आठ दिनअघि डिलरमा नाम टिपाए पनि ग्यास नपाएको उनले गुनासो गरे । डिलरले सर्वसाधारण र विद्यार्थीलाई ग्यास नदिई आफ्ना नजिककालाई मात्र वितरण गरेको उनको आरोप छ । कीर्तिपुरका प्रदीप भट्ट भने आईईएलटीएस कक्षा छाडेर बिहान ६ बजेदेखि टेकुमा लाइन बसेका थिए । ग्यास बोकेर फर्कने कुनै सवारी नपाउँदा थप समस्या भएको उनले बताए । मनोज अछामीका अनुसार केही डिलरले भने ९ हजार रुपैयाँसम्ममा नयाँ ग्यास मिलाइदिने बताउँदै खुलेआम कालोबजारी गरिरहेका छन् ।
प्रधानमन्त्री कार्यालयमा गलत ब्रिफिङ
सोही दिन उद्योग मन्त्रालय, आयल निगम, उद्योगी तथा ग्यास वितरण व्यवसायीले प्रधानमन्त्री कार्यालयमा ग्यास अभाव बजारको हल्ला मात्रै भएको भन्दै ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्कीसँगको छलफलमा निगम र उद्योगीहरूले ग्यास अभाव नभएको दाबी गरेका थिए । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बजारमा ग्यासको चरम अभाव हुँदाहुँदै प्रधानमन्त्री कार्यालयमा उपभोक्ताले ग्यास सञ्चय गरेका कारण अभाव भएको भनी गलत ब्रिफिङ गरिएको आरोप लगाए ।
आयल निगमको वितरण व्यवस्थापन
आयल निगमले शनिबारदेखि टेकुस्थित पुरानो कार्यालयबाट प्रत्यक्ष ग्यास वितरण सुरु गरेको छ । उपत्यकाको आपूर्ति सहज बनाउन त्यहाँ नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्रान्डका ग्यास बिक्री भइरहेको छ । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार शनिबारदेखि मंगलबारसम्म २ हजार ९ सय ९६ सिलिन्डर वितरण भएको छ । शनिबार १ सय ७५, आइतबार १ हजार १०, सोमबार ९ सय ५० र मंगलबार ८ सय ६१ सिलिन्डर बाँडिएको उनले जानकारी दिए । निगमले अगस्ट महिनाका लागि ५५ हजार टन ग्यासको कोटा भारत पठाइसकेको र आपूर्तिमा कुनै समस्या नरहेको ठाकुरको भनाइ छ । “समस्या आपूर्तिको होइन, मुख्य समस्या बजारको वितरण प्रणालीमा छ,” उनले भने ।
उद्योग संघको आरोप
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले भने सरकारको नीतिकै कारण ग्यास हाहाकार मच्चिएको आरोप लगाएका छन् । आधा सिलिन्डर बेच्ने नीति १५ दिनका लागि मात्र लागु गर्न सुझाव दिइए पनि सरकारले लामो समय त्यही नीति तन्काउँदा एक्कासि पूर्ण सिलिन्डर बजारमा आउँदा माग ह्वात्तै बढेको उनको भनाइ छ । ग्यास ढुवानी गर्ने बुलेट भारतीय नियन्त्रणमा रहनु र इन्डियन आयल कर्पोरेसनले दिने कोटा सीमित हुँदा तत्काल आपूर्ति बढाउन नसकिएको पनि उनले बताए । १० देखि १५ दिनभित्र ग्यास आपूर्ति पूर्ण रूपमा सहज हुने उनको दाबी छ ।
उपभोक्ता अधिकारकर्मी तिमल्सिनाले निगमको अक्षमता र व्यवस्थापकीय कमजोरी लुकाउन उल्टै सर्वसाधारणलाई दोष दिनु जनताप्रतिको अपमान भएको बताए । “चन्द्रागिरि वा कीर्तिपुरबाट ठूलो ट्याक्सी भाडा तिरेर कोही रमाइलोका लागि लाइन बस्न आएका होइनन्, उनीहरू भोकभोकै पीडा लिएर आएका हुन्,” उनले भने । आफ्नो गल्ती लुकाउन निरीह नागरिकमाथि दोष थुपार्ने काम स्वीकार्य नहुने उनको भनाइ छ ।
