काठमाडौं, साउन २० — परराष्ट्र मन्त्रालयले नीति निर्माणलाई अनुसन्धान र विज्ञहरूको सुझावमा आधारित बनाउन ‘मोफा नलेज फोरम’ नामक नयाँ मञ्च सुरु गरेको छ। मन्त्रालयका अनुसार यो फोरमले नीतिगत छलफल र बाह्य अनुसन्धानबीचको दूरी कम गर्ने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा बुधबार मन्त्रालयमा यसको पहिलो कार्यक्रम सम्पन्न भएको छ।
फोरमको उद्देश्य
मन्त्रालयका अनुसार ‘मोफा नलेज फोरम’ मासिक रूपमा सञ्चालन हुने कार्यक्रम हो। यसअन्तर्गत परराष्ट्रमन्त्री र मन्त्रालयका वरिष्ठ अधिकारीहरू नेपालको परराष्ट्र नीतिको परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क र विषयविज्ञहरूसँग प्रत्यक्ष संवाद गर्नेछन्।
प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्नु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ। प्रकाशित सामग्रीमा मात्र सीमित नरही ती अध्ययनका लेखक तथा विज्ञहरूसँगै मन्त्री र अधिकारीहरूले प्रत्यक्ष संवाद गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, विभिन्न साझेदार र विषयसँग सम्बन्धित नीतिगत काममा आगामी दिनमा उपयोग गर्न सकिने गरी विज्ञहरूसँगको संलग्नता र अन्तरक्रियाको व्यवस्थित अभिलेख पनि फोरमले तयार गर्ने मन्त्रालयको भनाइ छ।
पहिलो सत्रमा तीन कार्यपत्र
पहिलो सत्रमा शगुनी सिंह शाक्य, आवास पिया र डा. सन्तोष शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए। शाक्यले उपहार आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन गर्न सकिने विषयमा कार्यपत्र राखेका थिए भने पियाले विकास सहायताबारे प्रकाश पारेका थिए। पौडेलको कार्यपत्र नेपालको कूटनीतिसँग सम्बन्धित थियो।
प्रस्तुतिपछि परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारी र अधिकृतहरूले कार्यपत्रमाथि आ–आफ्ना धारणा राखेको मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री खनालले अनुसन्धानले ज्ञान विस्तार गर्ने र त्यही ज्ञानले नीति निर्माणमा सहयोग पुर्याउने बताएका थिए। आगामी पाँच वा १० वर्षको कूटनीतिक मार्गचित्र कोर्न यस्ता छलफलले सहयोग गर्ने उनको विश्वास थियो।
यही फोरम हरेक महिना सञ्चालन हुने जानकारी नीति, योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशलकिशोर रायले दिएका छन्।
