मुख्य सामग्रीमा जानुहोस्

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दुई वर्षपछि सार्वजनिक अभिव्यक्ति, डिसेम्बरमा फर्किने दाबी

सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा देश छाडेर भारत पुगेकी शेख हसिनाले करिब दुई वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेकी हुन्। उनले यही डिसेम्बरमा बंगलादेश फर्किने योजना दोहोर्याउँदै २०२४ को आन्दोलन शान्तिपूर्ण नरहेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेकी छन्। बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा उनले यही वर्ष डिसेम्बरमा स्वदेश फर्किने दाबी गरेकी हुन्। सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा देश छाडेर भारत पुगेपछि उनले पहिलो पटक यसरी आफ्ना कुरा राखेकी हुन्।

यो पत्रकार सम्मेलन भिडिओमा नभई अडिओमा सञ्चालन गरिएको थियो। नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले यसको आयोजना गरेको थियो। हसिनाले सो क्रममा स्वदेश फिर्ने योजना, आवामी लिग, बंगलादेशको समसामयिक राजनीति तथा २०२४ को विद्यार्थी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

डिसेम्बरमा फर्किने दाबी

हसिनाले डिसेम्बरमा फर्किने कुरा दोहोर्याएकी छन्। यसअघि पनि उनको डिसेम्बर फिर्तीबारे चर्चा भएको थियो। ‘म आफ्ना जनतामाझ डिसेम्बरमा फर्किनेछु,’ उनले भनिन्। मितिबारे भने उनले सही समयमा जानकारी दिने बताएकी छन्।

आफूलाई मनगढन्ते र फर्जी मुद्दामा फसाउने प्रयास हुन सक्ने उनको आशंका छ। ‘तर, डर जनताप्रति मेरो दायित्व, मेरो जिन्दगी वा अगाडिका बारेमा फैसला गर्न सक्दैन,’ उनले भनिन्। पछिल्ला दुई वर्ष बंगलादेशले ठूलो तनाव र दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै उनले भनिन्, ‘यो त्यो बंगलादेश होइन, जसलाई हामीले बनाएका थियौं। यो त्यो बंगलादेश होइन, जसका लागि १९७१ मा ३० लाख मानिसले बलिदान दिएका थिए।’

विद्यार्थी आन्दोलनबारे टिप्पणी

सन् २०२४ जुलाई–अगस्टको विद्यार्थी आन्दोलन शान्तिपूर्ण नरहेको हसिनाले बताइन्। ‘सत्य यो हो कि त्यो कुनै शान्तिपूर्ण विद्यार्थी आन्दोलन थिएन,’ उनको भनाइ छ। ‘सुरुदेखि नै मेरो सरकारले वार्ता, कानुनी प्रक्रिया र धैर्यताका माध्यमबाट मुद्दालाई शान्तिपूर्ण ढंगले सुल्झाउने प्रयास गरेको थियो।’

विद्यार्थीका मागलाई हिंस्रक राजनीतिक हतियारमा बदल्न खोज्ने संगठित समूह आन्दोलनमा सक्रिय रहेको उनको दाबी छ। आफू यी कुरा एक्लो व्यक्तिका रूपमा नभई जीवनभर बंगलादेशका जनतासँग बिताएकी र देश छाड्न बाध्य भए पनि जनतासँग कहिल्यै नटुटेकी व्यक्तिका रूपमा बोलेको उनले बताइन्।