मुख्य सामग्रीमा जानुहोस्

गृहमन्त्रीविरुद्ध भ्रामक भिडियो राखेको आरोपमा नेकपाका अधिकारी पक्राउ, पाँच दिनको म्याद

नेकपा नेता तथा वाईसीएलसँग आबद्ध ४१ वर्षीय गोविन्द अधिकारीलाई सोमबार कास्कीबाट पक्राउ गरिएको हो । मंगलबार सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
गृहमन्त्रीविरुद्ध भ्रामक भिडियो राखेको आरोपमा नेकपाका अधिकारी पक्राउ, पाँच दिनको म्याद
eKantipur

गृहमन्त्री सुधन गुरुङविरुद्ध सामाजिक सञ्जालमा भ्रामक भिडियो राखेको आरोपमा प्रहरीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोविन्द अधिकारीलाई पक्राउ गरेको छ । कास्कीको पोखरा निवासी ४१ वर्षीय अधिकारी वाईसीएलसँग पनि आबद्ध रहेको बताइएको छ ।

गृहमन्त्री गुरुङ गोरखाका बासिन्दा हुन् । शनिबार र आइतबार गोरखा सदरमुकाममा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन भएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिएको थियो । सोही भिडियोका सम्बन्धमा अधिकारीमाथि कारबाही भएको हो ।

अधिकारीलाई सोमबार कास्कीबाट पक्राउ गरी गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । मंगलबार सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनीविरुद्ध मुद्दा दर्ता भएको र पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि श्रेष्ठले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा नभएको र नदेखिएको अवास्तविक भिडियो फुटेजप्रति विश्वास नगर्न आग्रह गरेको थियो ।

वाईसीएलको आपत्ति

वाईसीएल कास्कीले भने प्रेस विज्ञप्ति निकालेर गृह मन्त्रालयको निर्देशनमा अधिकारी पक्राउ गरिएको जनाउँदै ध्यानाकर्षण व्यक्त गरेको छ । सरकारको आलोचना गरेकै कारण राजनीतिक आस्थासँग जोडेर धरपकड गरिएको भन्दै उसले विरोध जनाएको छ र अधिकारीको निसर्त रिहाईको माग गरेको छ ।