कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणको पक्की पर्खाल पुनर्निर्माण गर्न सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले तयारी सुरु गरेको छ । बाढीले भत्काएको संरचना बनाउन करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाले जनाएको छ ।
आउँदो बर्खा सुरु हुनुअघि नै नदी नियन्त्रण र बजार संरक्षणको काम टुंग्याउने लक्ष्य राखिएको छ । सोही लक्ष्यअनुसार एक महिनाभित्र निर्माण ठेक्का आह्वान गर्ने तय भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
बाढीले बेनी नगरपालिका–८ को गणेश टोल पछाडि बनाइएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं ७ मा म्याग्दी जेसीजको कार्यालयअगाडि रहेको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षति पुर्याएको थियो । नदीको कटानले पर्खालसँगै चक्रपथ पनि प्रभावित बनेको छ ।
लागत अनुमान र ठेक्का
आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिको तत्काल लागत अनुमान तयार गरी आवश्यक बजेटको व्यवस्था गर्दै एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना छ । पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल बनाइने उनले बताए ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजार जोगाउन क्षतिग्रस्त पर्खालको पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । लागत अनुमान छिटो तयार गरेर आवश्यक बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढाउन उनले आयोजनालाई अनुरोध गरेका छन् ।
आयोजना प्रमुख प्रेमहरि पराजुलीका अनुसार मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको थियो । पछिल्लो समय थप क्षतिको विवरण आएकाले अद्यावधिक विवरण तयार गरी आवश्यक बजेटका लागि विभागमा पठाउने तयारी भएको उनले बताए ।
कटानका कारण जोखिममा परेका बेनी बजारलगायतका बस्तीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आउँदो बर्खा सुरु हुनुअघि नै नदी नियन्त्रणका योजना टुंग्याउने गरी काम अघि बढाइने उनको भनाइ छ ।
यसअघि पनि सोही स्थानमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो । बाढीले ती संरचनामा क्षति पुर्याएपछि बजार संरक्षणका लागि पुनर्निर्माण गर्न लागिएको हो ।







