बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सन् २०२४ मा भएको विद्यार्थी आन्दोलन अचानक सुरु नभई नियोजित रूपमा भएको दाबी गरेकी छन्। देश छाडेर भारत पुगेको दुई वर्षपछि बुधबार पहिलो पटक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्।
सो आन्दोलन कुनै देखिने र उत्तरदायी नेतृत्वविहीन अभियान नभई पर्दा पछाडिबाट निर्देशित भएको उनको भनाइ छ। उनले आन्दोलनका क्रममा योजनाबद्ध रूपमा झूटा प्रचार भएको आरोप पनि लगाइन्। विद्यार्थीको भावनाको उपयोग गरिएको र संगठित समूहले त्यसलाई हिंसा तथा सत्ता परिवर्तनको आधार बनाएको उनको दाबी छ।
हसिनाले प्रधानमन्त्री रहँदा आफैं विद्यार्थीसँग वार्ताको पहल गरेको स्मरण गरिन्। उनका अनुसार प्रधानमन्त्री निवास गणभवनमा विद्यार्थीलाई बोलाएर वार्ता गरिएको थियो भने तीन मन्त्रीले पनि उनीहरूसँग संवाद गरेका थिए।
जुलाई १५ पछि हिंसात्मक मोड
जुलाई १५ पछि आन्दोलनको स्वरूप बदलेर हिंसात्मक बनेको हसिनाले बताइन्। त्यसपछि हत्या, आगजनी, हमला र लुटपाट सुरु भएको उनको भनाइ छ। सार्वजनिक सम्पत्तिमा क्षति पुर्याइएको, बंगलादेश टेलिभिजनमाथि आक्रमण गरी आगो लगाइएको पनि उनले सुनाइन्।
यस्तै, कानुन कार्यान्वयन गर्ने निकाय र एजेन्सीमाथि संगठित हमला भएको उनको भनाइ छ। प्रहरी र अन्य अधिकारीको हत्या गरिएको र उनीहरूको शव फ्लाइओभरमा टाँगिएको उनले बताइन्।
उनका अनुसार ४६० प्रहरी थानामा आक्रमण भएको थियो भने कैयौं प्रहरी चौकी जलाइएको र हतियार लुटिएको थियो। आगजनीका क्रममा कैयौं प्रहरी भित्रै फसेर मारिएको र कतिपयलाई कुटपिट गरी ज्यान लिइएको उनको भनाइ छ।
हसिनाले सो आन्दोलनका क्रममा तीन हजार प्रहरी मारिएको तथ्यांकसमेत सुनाइन्। उनीहरूमाथि आक्रमण भएको, यातना दिइएको र गम्भीर हिंसात्मक ढंगले मारिएको उनले बताइन्।
दुई वर्षपछि पहिलो सार्वजनिक प्रतिक्रिया
सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा बंगलादेश छाडेकी हसिना भारतमा रहेकी छन्। देश छाडेको दुई वर्षपछि बुधबारको पत्रकार सम्मेलनमार्फत उनले पहिलो पटक सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी हुन्।
