मुख्य सामग्रीमा जानुहोस्

रसुवा, नुवाकोट र धादिङका विद्यालयमा बाढीको भारी क्षति, पढाइ अनिश्चित

बुधबारको बाढीले रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूमा ठूलो क्षति पुर्‍याएको छ। कतिपय विद्यालय भवन पूर्ण रूपमा बगाएको र सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको पूर्ण विवरणसमेत आउन सकेको छैन। नुवाकोटमा भने विद्यार्थी र…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा, नुवाकोट र धादिङका विद्यालयमा बाढीको भारी क्षति, पढाइ अनिश्चित
Online Khabar

बुधबार विहान आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूमा व्यापक क्षति पुर्‍याएको छ। कतिपय विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जसले गर्दा छिट्टै पठनपाठन सुचारु गर्न कठिनाइ देखिएको छ। बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरणसमेत हालसम्म संकलन हुन सकेको छैन।

तिब्बतबाट आएको बाढी नेपाल भित्रिने पहिलो जिल्ला रसुवामा विद्यालयहरूको अवस्था बुझ्न नै समस्या भइरहेको छ। प्रारम्भिक विवरण अनुसार रसुवाका छ वटा विद्यालयमा क्षति पुगेको छ, जसमध्ये गोसाईकुण्ड गाउँपालिकाका विद्यालयहरू सबैभन्दा बढी प्रभावित छन्।

गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवनमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। भवन बगाएको वा भत्किएको भन्ने यकिन विवरणसमेत संकलन हुन सकेको छैन। यसैगरी उत्तरगया गाउँपालिकाको उत्तरगया विद्यालय पनि क्षतिग्रस्त भएको छ, जहाँ विद्यार्थीहरू भागेर ज्यान बचाएका छन्। टिमुरे क्षेत्रकै दुई बोर्डिङ र दुई सामुदायिक विद्यालयमा क्षति पुगेको प्रारम्भिक अनुमान छ तर ती विद्यालयको नाम खुल्न सकेको छैन।

सञ्चार सम्पर्क विच्छेद हुँदा विवरण संकलनमा बाधा

बाढीपछि रसुवामा सञ्चारका सबै माध्यम ठप्प भएकाले विद्यालयको क्षतिबारे तथ्यांक संकलन गर्न नसकिएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका प्रमुख दुर्गाप्रसाद सिलवालले बताएका छन्। बाढीपछि सम्पर्क विच्छेद भएपछि नुवाकोट आइपुगेर मात्रै आफू सम्पर्कमा जोडिन सकेको उनले जानकारी दिए।

‘फोन र नेट नहुँदा क्षतिबारे बुझ्नै नसक्ने अवस्था छ। कसैसँग सम्पर्क हुन सकेको छैन। बिजुली, टेलिफोन, नेट केही छैन,’ सिलवालले भने, ‘६ घन्टा पर नुवाकोट आएर म सम्पर्कमा जोडिन पाएको हुँ।’

गोसाईकुण्ड गाउँपालिकाको वडा-२ टिमुरेमा बाढीले बढी क्षति पुर्‍याएको छ। त्यहाँ सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। काठमाडौंमा रहेका गोसाईकुण्ड-२ का वडा सदस्य पेमा दोर्जे घलेले टिमुरेमा सम्पर्क हुन नसकेको बताए। क्षतिबारे कुनै जानकारी नपाएको र फोनसमेत नलागेको उनको भनाइ छ।

नुवाकोटमा विद्यार्थी र अभिभावक भेटाउनै कठिन

बाढी आउनुअघि नुवाकोटका विद्यालयमा पठनपाठन सुरु भइसकेको थियो। कक्षा चलिरहेकै बेला बाढी आएपछि विद्यार्थीहरू अभिभावकको सम्पर्कबाट टुटेका छन्। बाढीबाट जोगिएका विद्यार्थीलाई अभिभावकसँग भेटाउन नुवाकोटमा निकै कठिन भइरहेको छ।

विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले बच्चा विद्यालयमा र अभिभावक घरमा रहेका बेला बाढी आएकाले एक अर्कालाई भेट गराउनै कठिन परिरहेको बताइन्। राहत र उद्धारका काममा सडक अवरुद्ध भएकाले थप समस्या भएको उनको भनाइ छ।

‘ढिलो भयो। बच्चा स्कुलमा, अभिभावक घरमा। बच्चा र अभिभावकको परिस्थिति कल्पना गर्दा मुटु बाहिर निस्कन्छ,’ उपप्रमुख बोगटीले भनिन्, ‘राहत र उद्धारमा सडक अवरुद्धका कारण कठिन बनिरहेको छ। सबैले काम गरिरहेका छौं तर प्रभावकारी बन्न सकेको छैन।’

नुवाकोटका छ वटा विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ, जसमध्ये चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख सूर्य खत्रीका अनुसार विदुर नगरपालिका-५ को त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ। एक हजार ६४३ विद्यार्थी अध्ययनरत उक्त विद्यालयको भौतिक संरचनामा व्यापक क्षति भएको छ।

तर, बाढीले क्षति पुर्‍याउनुअघि नै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए। बाढी आएको दिन शिक्षक, कर्मचारी र विद्यार्थी गरी करिब ५० जना त्रिशूली बजारमाथिको डाँडामा सुरक्षित रहेको उनले बताए।

विदुर-७ टुप्चेको चण्डेश्वर माविको छात्रावास, विदुर-१० वेत्रावतीको रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया बोर्डिङ स्कूलको भौतिक संरचना बाढीले पूर्ण रूपमा बगाएको छ। विदुर-६ को जेडी बोर्डिङ स्कूल र पायोनियर स्कूलमा पनि भलपानी पसेको छ।

बाढीले सडक र पुलहरू क्षतिग्रस्त बनाएकाले विद्यार्थीलाई अभिभावकसँग भेटाउन हेलिकोप्टरको सहारा लिनुपरेको एकाइ प्रमुख खत्रीले बताए। हाल विदुर र त्रिशूली क्षेत्रको सडक मार्ग विच्छेद भएकाले हेलिकोप्टरबाट बच्चाहरूलाई सुरक्षित स्थानमा लगेर परिवारसँग भेटाउने काम भइरहेको उनको भनाइ छ।

धादिङका चार विद्यालयमा बाढी, आठ शिक्षक सम्पर्कविहीन

धादिङका चार विद्यालयमा बाढी पसेर पठनपाठन अवरुद्ध भएको छ। गल्छी गाउँपालिकाका बागेश्वरी मावि, अमलेश्वर गुरुकुल विद्यालय र सक्सेस एकेडेमीमा बाढी पसेको छ भने सिद्धलेक गाउँपालिकाको जलेश्वर मावि पनि प्रभावित भएको छ।

धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार पृथ्वी राजमार्ग सफा भएपछि मात्रै विद्यालयको सरसफाई सुरु गर्न सकिने अवस्था छ। यसैबीच, धादिङबाट गोसाईकुण्ड गएका तीन कार्यरत र पाँच पूर्व शिक्षक गरी आठ जना बुधबारदेखि सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेहरूमा नीलकण्ठ नगरपालिकाका ठाकुरप्रसाद लम्साल, जानुका खनाल, शिवहरि लम्साल र पूर्व शिक्षक तुलसी तिमिल्सेना, ईश्वरीप्रसाद तिमिल्सेना, हरिप्रसाद सिलवाल, घनश्याम भट्ट र नारायणप्रसाद लम्साल रहेका छन्।