गत असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानले बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । चीन र भारतलाई जोड्ने यो सडक पूर्ण रूपमा पुरानै अवस्थामा फर्काउन भने रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० स्थानमा सडक बगाएको र भत्काएको छ भने ५० स्थानमा पहिरोले क्षति पुर्याएको छ । प्रारम्भिक मर्मत गरेर दुई सप्ताहभित्रै सडक सञ्चालनमा ल्याउन सकिए पनि त्यसलाई पहिलेकै अवस्थामा फर्काउन थप रु तीनदेखि चार अर्ब खर्च लाग्ने उनको भनाइ छ । पहिरो र नदी नियन्त्रणका साथै यसअघि डिबिएसडी कालोपत्र भएको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुरूप काम गर्नुपर्ने भएकाले पनि लागत बढ्ने शर्माले बताए ।
सबैभन्दा बढी म्याग्दी खण्डमा क्षति
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोड्ने २०२ किलोमिटर लामो सडकमध्ये म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा सबैभन्दा धेरै क्षति पुगेको छ । यसअघि पहिरो र कटानको जोखिम रहेको भनिएका स्थानबाहेक नयाँ ठाउँमा पनि कटान र पहिरो देखिएको छ ।
सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३/०७४ मा सुरु भएको यो सडकमा हालसम्मकै धेरै क्षति अहिले भएको बताए । योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीका अनुसार म्याग्दी खण्डमा हालै स्तरोन्नति गरिएको सडकमा पनि ठूलो क्षति पुगेको छ ।
पर्वतको फर्से, केराबारी, लामाबगर तथा म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता र सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठूलो क्षति गरेको छ ।
यात्रामा तीनदेखि चार घण्टा
यसअघि एक घण्टा तीन मिनेटमा पार गर्न सकिने म्याग्दी खण्ड अहिले बाढीपहिरोपछि तीनदेखि चार घण्टामा पार गर्नुपर्ने अवस्था छ । कालीगण्डकीले बगाएको पोखरेबगरको सडक पुलनजिक अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ । पहिरो र कटान भएका स्थानमा एकतर्फी मात्र सवारी चल्ने गरी बाटो खोलिएकाले सवारीसाधन अलपत्र पर्ने र जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
कोरला नाका आउने–जाने कन्टेनर, नाकाबाट भित्रिने सवारीका साथै मुस्ताङ जाने पर्यटक र स्थानीयवासीको चाप उच्च हुने गर्छ । कोरला नाका, पर्यटन र आन्तरिक यातायातका दृष्टिले यो सडक महत्त्वपूर्ण मानिन्छ ।
केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले बजेटको कमी हुन नदिने बताउँदै कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए ।







