मुख्य सामग्रीमा जानुहोस्

रसुवागढी भन्सार बगर, चीनसँगको आपूर्ति प्रणाली ठप्प

चीनसँगको प्रमुख नाका रसुवागढीमा बुधबार आएको बाढीले सयौँ कन्टेनर र मालवाहक ट्रक बगाएको छ । तातोपानी नाका पनि अवरुद्ध भएपछि व्यवसायी कोरला नाकातर्फ आकर्षित भए पनि ढुवानी लागत र समय बढ्ने भएको छ ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवागढी भन्सार बगर, चीनसँगको आपूर्ति प्रणाली ठप्प
Online Khabar

काठमाडौं, ११ भदौ । चीनसँग जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीमा बुधबार आएको भोटेकोशी बाढीले भन्सार यार्ड नै बगर बनाइदिएको छ । चाडपर्वका लागि ल्याइएका सयौँ कन्टेनरसहित अर्बौं रुपैयाँको सामान बाढीले बगाएको छ ।

तिज, दसैँ, तिहार र छठजस्ता ठूला चाड आउनै लाग्दा बजारमा आवश्यक पर्ने लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री, लसुन, प्याज, अदुवा र फलफूल बोकेका कन्टेनर भेलमा परेका हुन् । व्यवसायीले ऋण गरेर मगाएका ती सामान नष्ट हुँदा काठमाडौंको न्युरोड, भोटाहिटी र रञ्जना गल्लीका व्यापारीहरू आर्थिक र मानसिक तनावमा छन् ।

बाढीले रसुवागढीको सुक्खा बन्दरगाह, भन्सार यार्ड र त्यहाँ पार्किङ गरिएका मालवाहक कन्टेनर तथा भर्खरै भित्र्याइएका विद्युतीय सवारीसाधनसमेत ध्वस्त पारेको छ । भन्सार कर्मचारी, एजेन्ट र चालकहरू बेपत्ता भएपछि यो विपद् आर्थिक नोक्सानीमा मात्र सीमित रहेन । नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार भन्सारका १४ जना कर्मचारीको अहिलेसम्म अत्तोपत्तो छैन । अधिकांश भन्सार एजेन्ट, बैंकका कर्मचारी र चालक पनि सम्पर्कविहीन छन् ।

रसुवा र तातोपानी नाका खुल्ने तत्काल सम्भावना नरहेको अग्रवाल बताउँछन् । सबै पूर्वाधार बगर भइसकेकाले राज्यले तुरुन्तै उद्धार र राहतका काम अघि बढाउनुपर्ने उनको भनाइ छ । न्युरोडस्थित आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार चीन पुगेका अधिकांश चालक र सहयोगीको फोन सम्पर्क नै भएको छैन । चाडपर्वका लागि भन्सारमा आइसकेका सामान क्षतिग्रस्त भएको र सीसीटीभी फुटेजमा गोदाम क्षेत्र ध्वस्त देखिएको उनले बताए ।

तातोपानी र कोरला : विकल्पको खोजी

सिन्धुपाल्चोकको तातोपानी नाकातर्फ नेपाली पक्षले पहिरो हटाएर अस्थायी सडक निर्माण गरिसके पनि चिनियाँ पक्षले कन्टेनर छाड्न मानेको छैन । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार 'माथिको आदेश छैन' भन्दै चिनियाँ पक्षले आलटाल गरिरहेको छ । दुवै पक्षबीच प्रत्यक्ष भेट हुन नसक्ने अवस्था छ र एउटा नोडल अधिकारीमार्फत मात्र सन्देश आदानप्रदान हुने गरेको छ ।

तातोपानी र रसुवागढी दुवै नाका अन्योलमा रहेपछि भन्सार विभागले मुस्ताङको कोरला नाका प्रयोग गर्न व्यवसायीलाई सुझाव दिएको छ । समथर भूभागमा रहेकाले कोरलामा बाढीपहिरोको जोखिम कम भए पनि नाकामा भन्सार पूर्वाधार, फराकिलो सडक र गोदामको अभाव छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार हाल यो नाकाबाट दैनिक ८ देखि १० वटासम्म कन्टेनर भित्रिन थालेका छन् । केही समयअघि १०० वटा बीवाईडी र ६३ वटा फोटोन कम्पनीका विद्युतीय गाडी पनि कोरला हुँदै भित्रिएका थिए ।

नाकामा क्वारेन्टिन सुविधा नहुँदा फलफूल, तरकारी र खाद्यान्न भने ल्याउन सम्भव नभएको चुडाल बताउँछन् । १८ जनाको दरबन्दी रहेको मुस्ताङ भन्सारमा हाल १० जना मात्र कार्यरत छन् । भौगोलिक रूपमा विकट कोरला नाकाबाट सामान ल्याउनु व्यवसायीका लागि बाध्यता भएको आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष दाहालको टिप्पणी छ ।

लागत बढ्ने, उपभोक्तामा पर्ने भार

रसुवा–केरुङतर्फको चिनियाँ भूभागमा करिब ५० देखि ६० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली बताउँछन् । उनका अनुसार कोरलाबाट काठमाडौं आइपुग्न करिब दुई दिन लाग्छ । बाटो परिवर्तन गर्दा ढुवानी खर्च निकै बढ्ने र बजारमा सामानको मूल्य आधैसम्म बढ्न सक्ने उनको अनुमान छ । अड्किएका सामान हवाई वा समुद्री मार्गबाट ल्याउन चिनियाँ सरकारले लचिलो नीति अपनाउनुपर्ने पनि व्यवसायीले बताएका छन् ।

भारतको कोलकाता हुँदै समुद्री मार्ग प्रयोग गर्ने विकल्प पनि छ, तर त्यो झन्झटिलो र महँगो छ । चीनको कुनै बन्दरगाहबाट कोलकाता आइपुग्न डेढ महिना र त्यहाँबाट नेपाल आउन थप २०–२५ दिन लाग्ने अग्रवाल बताउँछन् । मध्यपूर्वको युद्धपछि कन्टेनरको पर्खाइ अवधि र शुल्क पनि बढेको छ । लामो समय सामान अड्किँदा बैंकको ब्याजले व्यवसायी थप भारित हुने अवस्था छ ।

व्यापार तथा वाणिज्यविद् रविशंकर सैँजुका अनुसार कोरलाबाट सामान ल्याउँदा ढुवानी लागत साविकको तुलनामा झन्डै दोब्बर पर्ने देखिन्छ । रसुवागढीमा करिब २–३ सय कन्टेनर बगेको वा क्षति पुगेको प्रारम्भिक अनुमान छ । चालक र व्यापारी नै हराएको अवस्थामा व्यवसायीले तत्काल अर्को नाका प्रयोग गर्न आँट गर्न पनि गाह्रो हुने उनले बताए ।

सैँजुले यस संकटलाई आपत्कालीन रूपमा लिएर सरकारले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । चाडपर्वको समयमा बजारमा कृत्रिम अभाव र महँगी हुन नदिन युद्धस्तरमा समन्वय आवश्यक रहेको उनको भनाइ छ । कोरला वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्दा लाग्ने अतिरिक्त खर्चमा राज्यले सहुलियत दिन सके उपभोक्तालाई राहत पुग्ने उनले बताए ।

उत्तरी नाकामा यस्तो विपद् आएको यो पहिलो पटक होइन । सन् २०१४ को जुरे पहिरो, २०१५ को महाभूकम्प र २०२० को भोटेकोशी बाढीमा पनि यही नाका प्रभावित भएको थियो । सन् २०१७ मा चीनले रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरे पनि सडकको अवस्था कमजोर नै छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै चीनबाट ३१ अर्ब ७४ करोड रुपैयाँको सामान आयात भएको छ भने गत आर्थिक वर्षमा ४ खर्बभन्दा बढीको सामान आयात भएको थियो । हरेक वर्ष चाडपर्वकै मुखमा बाढीपहिरोले अर्बौंको सामान क्षतिग्रस्त हुँदा साना तथा मझौला व्यवसायीको पूँजी नै सखाप हुँदै गएको व्यवसायीहरूको गुनासो छ ।