१२ भदौ, काठमाडौं । रसुवामा गएको बाढीपछि उद्धार तथा राहतका काममा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपछिको अवस्थामा सुरक्षाकर्मी परिचालनको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाल प्रहरीका ७ हजार २५० जना, नेपाली सेनाका ४ हजार २०० जना र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना गरी कुल १३ हजार २९५ जना सुरक्षाकर्मी उद्धार र राहतमा खटिएका छन् ।
त्यस्तै, बाढीपछि विभिन्न स्थानमा फसेकाहरूमध्ये ३ हजार २५३ जनाको उद्धार गरिसकिएको मन्त्री पोखरेलले बताए । उद्धारका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी कुल १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कार्य पनि जारी रहेको जानकारी दिँदै उनले १० ट्रकभन्दा बढी राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको बताए ।







