बेत्रावती बजारको घण्टाघर अहिले मौन छ । भोटेकोशी बाढीले बस्ती तहसनहस पारेपछि १० गते बिहानदेखि त्यहाँको घण्टी बज्न छाडेको हो । दुई सय बढी घर रहेको यो क्षेत्रमा एउटा पनि घर ठाडो छैन । लेदोले पुरिएको र क्षतविक्षत अवस्थामा पनि घण्टाघर भने अहिले पनि उभिरहेको देखिन्छ ।
बाढीअघि यहाँको घण्टाघरले बिहान ६ बजेदेखि राति ९ बजेसम्म हरेक घण्टा समयको घण्टी बजाउँथ्यो । स्थानीयवासीका लागि यो घण्टाघर समयको खबर दिने स्रोत थियो । तर अहिले घडीको सुई एकै ठाउँमा रोकिएको छ र बस्तीमा सन्नाटा मात्रै छाएको छ ।
भूकम्पपछि उठेको घण्टाघर
यो घण्टाघरको आफ्नै कथा छ । २०७२ सालको भूकम्पले बेत्रावती बजार ध्वस्त पारेपछि स्थानीय योगेश डंगोलले बस्ती पुनर्जीवित गर्ने योजना बनाए । उनैले घण्टाघर निर्माण गरेका हुन् । घण्टाघर बनेपछि यस क्षेत्रमा चहलपहल बढेको उनले बताए ।
घण्टाघर निर्माणका लागि डंगोलले दिल्लीबाट घडी ल्याएका थिए । घण्टाघरभित्र चारैतिर घडी जडान गरिएको थियो । उनका अनुसार घडी राख्नका लागि मात्रै १३ लाख रुपैयाँ खर्च भएको थियो । टावरसहितको पाँचतले घर बनाउँदा साढे दुई करोड रुपैयाँ लागेको थियो । जन्मेर हुर्केको ठाउँप्रतिको आकर्षणका कारण घर बनाएको र अहिले सबै नष्ट भएको उनले बताए । बाढीले बस्ती मानवरहित बनाएको उनको भनाइ छ ।
बाढीको साक्षी : योगेश डंगोल
बाढी आएको दोस्रो दिन डंगोल घण्टाघरमै भेटिए । उनी त्यहाँ आमाको चिनो खोज्दै गरेका थिए । लेदो लागेको आमाको फोटो फ्रेम र कपडा उनको हातमा थियो । आमाको सम्झना भएका सामान यादका लागि निकालेको उनले सुनाए । लेदो पखाल्दा ती वस्तु सफा हुने उनको भनाइ थियो ।
डंगोल करिब १७ वर्षयता अमेरिकामा बस्छन् । किड्नीको बिरामी आमाको रेखदेख र उपचारका लागि करिब दुई हप्ताअघि नेपाल फर्किएका थिए । बाढी आउँदा उनी बेत्रावती पुलमा थिए । सूचना पाएपछि रसुवातिर दौडिएर जंगल हुँदै बाँच्न सफल भए । आँखै अगाडि धेरै मानिसलाई बगाएको र उद्धार गर्न नसकेको डंगोलले सुनाए । आफ्नै जीवन भने १५–२० सेकेन्डको फरकले जोगिएको उनको भनाइ छ ।
डंगोलले आमा र बुबालाई जोगाउन सफल भए तर आफन्तहरू भने गुमाएका छन् । बाढीले उनका सबै कागजात बगाएको छ । पासपोर्ट र पैसा केही नभएको र भएकै सामान लगाएको हाफ टिसर्ट मात्र रहेको उनले बताए । स्लोभेनियाबाट आएका साथीका कागजात पनि बाढीमै परेका छन् ।
लेदोमा गाडिएका सामान खोज्न उनी पटकपटक पुगे पनि केही भेटिएको छैन । सात गते अमेरिका फर्कने तयारी रहेका बेला उनी बाढीको चपेटामा परेका हुन् । उनको घरमा बैंकसमेत रहेको बताइन्छ ।
बाढीपछिका दुई दिन डंगोलले बेत्रावतीबाट दुई घण्टामाथि पर्ने तल्लो केराघारीमा एक स्थानीयको घरमा आश्रय लिएका थिए । बस्ने ठाउँ अभावमा चिनेकै घरमा शरण पुगेको उनले बताए । अहिले बेत्रावतीमा बाढीबाट बाँचेकाहरू आफन्तको खबर र राहतको प्रतीक्षामा रहेका छन् ।







