१३ भदौ, काठमाडौं । कृषि तथा पोल्ट्री (लेयर्स) व्यवसायमा संलग्न सबिता ग्रुप होल्डिङ प्रालिले देशमा हालै आएको बाढीपहिरो र प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ।
कम्पनीले सोही उद्देश्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सौगात बर्तौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको बताएका छन्। बर्तौलाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा विपद्बाट प्रभावित भएकाहरूप्रति ऐक्यबद्धता जनाउँदै सबैलाई आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गरिएको छ।
‘सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुर्याउन सक्छ भन्ने विश्वासका साथ, हामी सबैलाई आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
विपद्बाट प्रभावितलाई सहयोग पुर्याउने क्रममा निजी क्षेत्रका संस्थाहरू पनि अगाडि आइरहेका छन्। सबिता ग्रुप होल्डिङले पनि सोही अभियानलाई साथ दिँदै नागरिकलाई सक्दो सहयोग गर्न आह्वान गरेको छ।







