यही भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले दर्जनौं पुल र सडक बगाएपछि वारिपारिका बस्तीहरूबीचको सम्बन्ध लगभग टुटेको छ। त्रिशूलीको दुवैतिरका स्थानीय अहिले आफन्तसँग सम्पर्कविहीन छन् भने सञ्चार, विद्युत्, खाद्यान्न र स्वास्थ्योपचारजस्ता आधारभूत सेवाबाट वञ्चित भएका छन्।
बाढीले रसुवा, नुवाकोट र धादिङका थुप्रै गाउँबस्ती जोड्ने ३५ वटा पक्की पुल बगाएको छ। झोलुङ्गे पुलको क्षतिबारे भने यकिन तथ्यांक छैन। तीन जिल्लाका लागि अहिले धादिङको गल्छीमा जोगिएको एउटा पुल नै मुख्य वैकल्पिक मार्ग बनेको छ।
नुवाकोट दर्शनटारका ८६ वर्षीय भुवनप्रसाद घिमिरे बाढीले वारिपारिको सम्बन्ध नै बगाएको बताउँछन्। उनले भने, 'दुवैतिर एकअर्काको अवस्था थाहा छैन, सरकारले सम्बन्ध कहिले जोड्छ भन्ने पनि छैन।' आफूले ८६ वर्षको उमेरमा पहिलोपटक यस्तो भीषण बाढी देखेको उनको भनाइ छ। २०१९ सालमा पनि बाढी आएको थियो, तर अहिलेजस्तो क्षति नभएको उनी बताउँछन्। 'त्यतिबेला पुल थिएनन्, बस्ती माथि थियो। सडक र पुल बनेपछि बस्ती तल सर्यो, अहिले बाढीले सबै लग्यो,' उनले भने।
धादिङतर्फ घर भएका ७८ वर्षीय धनबहादुर अधिकारी त्रिशूलीपारिका आफन्तसँग भेट्न नसकेको बताउँछन्। पहिले पुलबाट पाँच मिनेटमै वारपार गर्न सकिन्थ्यो, अहिले गल्छी पुगेर पैदल हिँड्दा चारदेखि पाँच घण्टा लाग्ने भएको छ। पहिले तुइन हटाएर झोलुङ्गे र पक्की पुल बनाइएको थियो, तर अहिले न पुल छ न तुइन। उनले भने, 'तत्कालका लागि तुइनकै व्यवस्था सरकारले गरिदिए पनि वारपार गर्न सहज हुन्थ्यो।'
देवीघाटमा तीनवटै पुल बगाए
नुवाकोटको देवीघाट वडा नम्बर ३ र ५ भएर बग्ने त्रिशूली क्षेत्रमा तीनवटा पुल थिए। स्थानीय लोकबहादुर पुडासैनीका अनुसार २०३२ सालमा निर्माण भएको फलामे पुल र २०६४ तथा २०८२ सालमा बनेका पक्की पुल तीनवटै बाढीले बगाएको छ। उनले देवीघाटले तीनवटा पालिकालाई जोड्ने काम गर्दै आएको र अहिले सम्बन्धविच्छेदको अवस्था सिर्जना भएको बताए। उनकी श्रीमती दुर्गा पुडासैनीको माइती त्रिशूलीपारि छ। बाढीले भाइ बगाएको थाहा पाए पनि उनी भेट्न जान पाएकी छैनन्। 'भाइ सम्पर्कमा छैन, उता जान सकिएको छैन,' उनले भनिन्।
विद्युत् र सञ्चार सेवा अवरुद्ध
बाढीले बिजुलीका पोल र तार क्षतिग्रस्त बनाएको छ, जसका कारण पारिपट्टिका धेरै बस्तीमा विद्युत् सेवा ठप्प छ। देवीघाटकी ६५ वर्षीया अम्बिका रिमालले बाढीले पोल बगाएपछि बिजुली नआएको र मोबाइल चार्ज गर्न घण्टौं हिँड्नुपरेको बताइन्। ४८ वर्षीया बिन्दा अधिकारीका अनुसार पारिका आफन्तको अवस्था अहिलेसम्म थाहा छैन। उनले भनिन्, 'फोन लाग्दैन, जान सकिँदैन। पहिले पाँच मिनेटमा वारपार हुन्थ्यो, अहिले यताको यतै, उताको उतै छौं।'
गर्मीका कारण धेरै स्थानीय घरबाहिर चौतारामा बस्न बाध्य छन्। विद्युत् र सञ्चार सेवा नहुँदा यी क्षेत्र विकट र दुर्गम गाउँजस्ता बनेको स्थानीयको गुनासो छ।
दैनिक जनजीवन, शिक्षा र उपचार प्रभावित
स्थानीयको दैनिक जनजीवन नै ठप्प भएको छ। भकारीमा धान र मकै भए पनि पारि रहेको मिलमा कुट्न नपाउँदा चामल सकिन थालेको स्थानीय बताउँछन्। लगाउने टीकादेखि दैनिक उपभोग्य वस्तुसमेत पारिको बजारबाट ल्याउनुपर्ने बाध्यता छ। ५५ वर्षीय पूर्णबहादुर भुजेलले टिभी हेर्न नपाएको, मोबाइल बन्द भएको र अवस्था ढुंगेयुगजस्तो बनेको बताए। गोविन्द अर्याल भन्छन्, 'खाद्यान्न र तरकारीको किनबेच ठप्प छ, पहिलेको गुल्जार बजार अहिले खण्डहर बनेको छ।'
वारिपारिका विद्यार्थीको पढाइमा समेत असर पुगेको छ। बेलकोटगढी नगरपालिकासम्मका विद्यार्थी देवीघाटमा पढ्न आउने गरेको ७७ वर्षीय कृष्णप्रसाद अर्यालले बताए। अब पुल नहुँदा उनीहरू कक्षामा आउन नसक्ने अवस्था आएको छ।
तीनवटै जिल्लालाई जोड्ने सडक सञ्जाल पनि टुटेको छ। गल्छीको एक मात्र पुल जोगिए पनि त्यस हुँदै त्रिशूली, देवीघाट, ढुङ्गे र बेत्रावतीसम्म पुग्न घण्टौं लाग्ने भएको छ। विदुर–९ बोगटीटारका ३२ वर्षीय रामहरि बोगटीका अनुसार विदुरदेखि गल्छी भएर बेत्रावती पारिपट्टि पुग्न पाँच घण्टा लाग्छ। कच्ची बाटोमा राहत सामग्री लिएर जाने सवारी र स्थानीयको आवागमनले जामसमेत हुन थालेको छ।
सडक र पुल नहुँदा बिरामीको उपचारमा समेत समस्या भएको छ। गम्भीर बिरामीलाई काठमाडौं पुर्याउन पहिले दुई घण्टा लाग्थ्यो, तर अहिले गल्छी हुँदै सात–आठ घण्टा लाग्ने बोगटीले बताए। एम्बुलेन्स आइपुग्न समय लाग्ने र त्यतिन्जेल बिरामीको अवस्था के हुने हो भन्न नसकिने उनको भनाइ छ।
बाढीको प्रत्यक्ष असर पिमलटार, तारुकाघाट, पिपलडाँडा, कुमालटार, सिर्खाली, मुल्थला, गौरीबेंसी, कालीखोला र त्रिशूलीको माथिल्लो भेगका स्थानीयलाई परेको छ।







