मुख्य सामग्रीमा जानुहोस्

बाढीको सातौं दिन : सुरुङ उद्धारमा आयोजना प्रवर्द्धकलाई खटिन अनुमति

एकद्वार प्रणालीबाट नेपाली सेनाले सात दिनसम्म उद्धारको प्रयास गरे पनि अपेक्षित सफलता नमिलेपछि सरकारले आयोजना प्रवर्द्धक कम्पनीलाई प्राविधिक टोली र उपकरणसहित खोज तथा उद्धारमा खटिन अनुमति दिएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढीको सातौं दिन : सुरुङ उद्धारमा आयोजना प्रवर्द्धकलाई खटिन अनुमति
Online Khabar

भदौ १६, काठमाडौं । भदौ १० गतेको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा पुर्‍याएको क्षतिपछि सुरुङ तथा भूमिगत विद्युत्गृहमा फसेका र सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा सातौं दिनमा सरकारले आयोजना प्रवर्द्धक कम्पनीलाई सहभागी हुन अनुमति दिएको छ। अब कम्पनीहरू आफ्नै प्राविधिक टोली र आवश्यक उपकरणसहित खोज तथा उद्धारमा परिचालन हुनेछन्।

यसअघि सरकारले एकद्वार प्रणालीबाट नेपाली सेनामार्फत खोज तथा उद्धारको काम गरिरहेको भन्दै आयोजनाका कम्पनीलाई प्रत्यक्ष संलग्न हुन दिएको थिएन। नेपाली सेनाको नेतृत्वमा उद्धार प्रयास भइरहे पनि सात दिनसम्म सुरुङमा फसेकाहरूलाई निकाल्न सकिएको छैन। अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित खोज तथा उद्धारमा खटिन भनेको हो।

लाङटाङ जलविद्युत् आयोजनाका प्रवर्द्धक विजयमान भट्टराईले सरकारले आयोजनाको प्राविधिक टोलीलाई उद्धार तथा खोजी कार्यमा संलग्न गराउने गरी बाटो खुला गरेको जानकारी दिए। नेपाली सेनाको टोलीले सुरुङको १०० मिटरसम्म पुगेर निरीक्षण गरेको र त्यसपछि प्राविधिक जनशक्ति लगाएर काम अघि बढाउन भनेको उनले बताए। यसअघि सरकारी संयन्त्रबाट उद्धार भइरहेका बेला आयोजनाका प्राविधिकलाई प्रत्यक्ष रूपमा परिचालन गर्न नदिइएको उनको भनाइ छ। अहिले भने सरकारी संयन्त्र र आयोजनाको टोलीबीच समन्वय गरेर काम अघि बढाउने अवस्था बनेको उनले बताए।

आयोजनाको टोली हाल काठमाडौंमा आवश्यक उपकरण तथा सामग्री खरिद र व्यवस्थापनमा लागेको छ। प्राविधिक सामग्री र उपकरण जुटाएपछि टोली आयोजनास्थलतर्फ जाने तयारीमा रहेको भट्टराईले जानकारी दिए।

यस्तै, माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) ले पनि आवश्यक प्राविधिक जनशक्ति र उपकरणको व्यवस्थापन थालेको छ। बाढीपछि आयोजनास्थलका केही व्यक्ति सम्पर्कविहीन बनेपछि कम्पनीले सुरुदेखि नै आफ्ना प्राविधिक टोली परिचालन गर्न खोजेको थियो। तर, एकद्वार प्रणालीबाट नेपाली सेनामार्फत उद्धार भइरहेको भन्दै सरकारले कम्पनीलाई प्रत्यक्ष रूपमा खोज तथा उद्धारमा जान दिएको थिएन। अब भने कम्पनीहरूले आफ्नै प्राविधिक क्षमता, उपकरण र जनशक्ति प्रयोग गरेर खोज तथा उद्धारमा सहभागी हुन पाउने भएका छन्।

भदौ १० गतेको बाढीका कारण रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। अझै ८९४ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेका छन्। रसुवामा एनडब्लूईडीसीले निर्माण गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा ५७३ जना सम्पर्कविहीन छन्। त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। नेपाली सेनाले जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र खोजतलास गर्दा कोही नभेटिए पनि ड्युटीमा रहेका तीन जना कर्मचारी भने सम्पर्कविहीन नै रहेको कम्पनीले जनाएको छ।

यस्तै, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाका ४१ जना र नुवाकोटमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाका ४२ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। सात दिनसम्म पनि आयोजनास्थलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्था स्पष्ट हुन सकेको छैन।

सोमबार पनि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखिए पनि आयोजनाको भूमिगत विद्युत्गृहभित्र २४ घण्टा काम गर्दा समेत सफलता मिलेन। सोमबार टनेल पोर्टल सफा गर्ने, पानी हटाउने र भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम भएको थियो। नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली सुरुङभित्र प्रवेश गरेर खोजीमा गएको थियो। सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।