राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
एनडीटीभी वर्ल्ड समिट २०२६ मा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग अन्त्य भएको बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर थापाले शनिबार आपत्ति जनाएका हुन्।
अर्थमन्त्रीको भनाइले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको थापाको टिप्पणी छ। नेपालको राष्ट्रवाद कुनै पनि देशको विरोधमा उभिने विषय नभई राष्ट्रिय सार्वभौमिकता र नागरिकको हित संरक्षणमा केन्द्रित रहेको उनले स्पष्ट पारेका छन्।
भारतसँग समानता र सम्मानजनक सम्बन्धको पक्षमा रहँदै सीमा अतिक्रमण, बाढीले गर्ने डुबान तथा नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोधी होइन, बरु राष्ट्रप्रतिको निष्ठा हो भन्ने थापाको भनाइ छ। सानो समूहका केही धारणालाई आधार मानेर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित ढंगले व्याख्या गर्नु पूर्वाग्रही दृष्टिकोण हुने उनले बताएका छन्।
थापाले अर्थमन्त्रीको अभिव्यक्ति विगतमा अघि सारिएको ‘मुनरो डक्ट्रिन’को प्रभाव हो कि भनेर प्रश्नसमेत उठाएका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने र सरकारले यस विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ।







