जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषय राज्य र राजनीतिक नेतृत्वका लागि मुख्य चुनौती भएको टिप्पणी गरेकी छन्। उनले आन्दोलनबाट मुलुकले पाएको सन्देश भनेकै सुशासनबिना कुनै पनि संसदीय शक्ति बलियो हुन नसक्ने रहेको बताएकी छन्।
भदौ २३ गते सामाजिक सञ्जालमार्फत धारणा राख्दै कार्कीले एक वर्षअघि नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएको स्मरण गराएकी छन्। उनका अनुसार त्यो आवाजलाई दबाउने क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको थियो।
कार्कीले आन्दोलनमा सहिद भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। आन्दोलनकै क्रममा निजी र सार्वजनिक सम्पत्तिमा भएको क्षति तथा राष्ट्रिय सम्पदा र धरोहर गुमाउनुपरेको घटनालाई उनले बिर्सन नसकिने घाउका रूपमा स्मरण गरेकी छन्। यस्ता घटना दोहोरिन नदिन आआफ्नो ठाउँबाट सबै इमानदार, जिम्मेवार र चनाखो भएर काम गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
राजनीतिक स्थायित्व संसदीय अंकगणितले मात्रै आउने होइन भन्ने आफ्नो निष्कर्ष कार्कीले दोहोर्याएकी छन्। देशमा सुशासन कायम नभएसम्म दुईतिहाइ बहुमतजस्तो शक्तिले पनि स्थिरता ल्याउन नसक्ने उनले बताएकी छन्। स्थायित्व शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने भन्दै उनले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी बन्नुपर्ने अपेक्षा व्यक्त गरेकी छन्।
जेनजी आन्दोलनका कारण जनधनमा ठूलो क्षति भएको एक वर्ष पनि नबित्दै मुलुक भोटेकोशी बाढीको पीडाबाट गुज्रिरहेकोतर्फ कार्कीले ध्यानाकर्षण गराएकी छन्। यस्तो दुःखद घडीमा सबैले धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ। विपदको सामना गर्न एकअर्काको सहारा बन्नुपर्ने, दुःखमा साथ दिनुपर्ने र ऐक्यबद्ध भएर काम गर्नुपर्नेमा पनि उनले आग्रह गरेकी छन्।







