प्रकृतिमा समय बिताउँदा आँखा र कानले पाउने आनन्दबारे धेरै जानकार छन् । तर रुख, माटो र बोटबिरुवालाई प्रत्यक्ष छुँदा मानव स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पछिल्ला अनुसन्धानले महत्त्वपूर्ण तथ्य देखाएका छन् । फिनल्यान्डमा भएका वैज्ञानिक अध्ययनहरूले माटो तथा प्राकृतिक वनस्पतिको सम्पर्कले छालामा हुने सूक्ष्म जीवाणु (माइक्रोब्स) को विविधता बढाउनुका साथै शरीरको रोगप्रतिरोधात्मक प्रणाली बलियो बनाउन सहयोग गर्ने जनाएका छन् ।
फिनिस इन्भायरन्मेन्ट इन्स्टिच्युटका पारिस्थितिकीविद् तथा प्रकृति–स्वास्थ्य अनुसन्धानकर्ता मीरा ग्रोनरुसले गरेको एउटा प्रयोगमा सहभागीहरूलाई २० सेकेन्डसम्म माटो र पिटर मोस हातमा घस्न लगाइएको थियो । त्यसपछि धाराको पानीले हात पखाले पनि उनीहरूको छालामा फाइदाजनक जीवाणुको संख्या र विविधता उल्लेख्य रूपमा बढेको पाइयो ।
वैज्ञानिकहरूका भनाइमा छालामा सूक्ष्म जीवाणुको सन्तुलित मिश्रण हुँदा ती जीवाणुले एकअर्कालाई सन्तुलनमा राख्छन् र हानिकारक तथा रोग फैलाउने जीवाणु (प्याथोजेन्स) लाई हाबी हुन दिँदैनन् ।
बालबालिकामा दुई वर्षे अध्ययन
वातावरण विज्ञ मार्जा रोजलुन्डको नेतृत्वमा फिनल्यान्डका बालबालिकामाथि गरिएको दुई वर्ष लामो अध्ययनले पनि उस्तै नतिजा देखाएको छ । पक्की वा सिमेन्टेड चोकमा खेल्ने बालबालिकाको तुलनामा प्राकृतिक वातावरण अथवा माटो–झारपात भएको आँगनमा नियमित खेल्ने बालबालिकाको छालामा एक वर्षपछि पनि सूक्ष्म जीवाणुको विविधता बढी भेटिएको थियो ।
अध्ययनअनुसार विशेष गरी ‘गामाप्रोटियोब्याक्टेरिया’ नामक जीवाणुको विविधता बढ्दा शरीरमा सेतो रक्तकोष (रेगुलेटरी टी सेल्स) को वृद्धि हुन्छ । यसले रोगप्रतिरोधी प्रणालीलाई अनियन्त्रित हुनबाट बचाउँछ र अटोइम्युन रोगको जोखिम घटाउँछ ।
वयस्कमा पनि देखियो लाभ
प्रकृतिको स्पर्शको लाभ बालबालिकामा मात्र सीमित छैन । अर्को एक अध्ययनमा हिउँदको समयमा घरभित्रै जैविक माटो प्रयोग गरी तरकारी उब्जाउने वयस्कहरूको छालामा जीवाणुको विविधता बढेको र रगतमा सुजन घटाउने ‘एन्टी-इन्फ्लेमेटरी साइटोकाइन्स’ को मात्रा बढेको पाइयो ।
यसैगरी कार्यालयहरूमा जीवित बोटबिरुवाका ‘हरिया पर्खाल’ (ग्रीन वाल्स) राख्दा कर्मचारीको छालाको स्वास्थ्य सुध्रिनुका साथै रगतमा इन्फ्लेमेसन गराउने तत्व घटेको अध्ययनले पुष्टि गरेको छ ।
अनुसन्धानकर्ताका अनुसार यी नतिजाले ‘जैवविविधता परिकल्पना’लाई बल पुर्याउँछ । वातावरणीय जैवविविधतामा आएको कमीले पछिल्लो समय प्रतिरक्षा प्रणालीसँग जोडिएका स्वास्थ्य समस्या बढाएको यो परिकल्पनाको दाबी छ ।
वैज्ञानिकहरूका भनाइमा दैनिक जीवनमा रुखको बोक्रा छुने, घाँसमा बस्ने वा माटोसँग प्रत्यक्ष सम्पर्कमा आउनेजस्ता साना बानीले पनि स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छन् ।







