मुख्य सामग्रीमा जानुहोस्

डोल्पा अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्सक अभाव यथावत्

डोल्पा जिल्ला अस्पतालमा गत आर्थिक वर्षमा १५ हजारभन्दा बढीले बहिरंग सेवा लिएका छन्। तर अस्पतालमा नवौं तहको विशेषज्ञ चिकित्सक नहुँदा जटिल बिरामी नेपालगञ्ज, सुर्खेत वा काठमाडौं पठाउनुपर्ने बाध्यता कायमै छ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
डोल्पा अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्सक अभाव यथावत्
Online Khabar

डोल्पा जिल्ला अस्पतालमा उपचार गराउनेको संख्या बर्सेनि बढ्दो छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै १५ हजार ९७८ जनाले बहिरंग (ओपीडी) सेवा लिएका छन् भने २०३ जना बिरामी थप उपचारका लागि जिल्ला बाहिर रेफर भएका छन्। बिरामीको चाप बढे पनि अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भने जस्ताको तस्तै रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको तथ्यांकअनुसार सो अवधिमा ८६१ जनाले आकस्मिक सेवा लिएका छन्। प्रयोगशाला सेवा ५ हजार ७९ जनाले लिए भने ४४६ जनाको ईसीजी र ६१ जनाको मुटुको इको परीक्षण गरिएको छ। यसैगरी १ हजार ८३८ जनाले भिडियो एक्सरे (यूएसजी), २ हजार ६५८ जनाले एक्सरे सेवा लिएका छन् र ७०८ जना भर्ना भई उपचार गराएका छन्।

प्रसूति सेवाको चाप पनि उल्लेख्य छ। गत आर्थिक वर्षमा १५६ जनाले सुत्केरी सेवा लिएका छन्, जसमध्ये १२६ जनाको सामान्य र ३० जनाको शल्यक्रियाबाट प्रसूति गराइएको अस्पतालले जनाएको छ। यसैगरी ४० नवजात शिशुले एसएनसीयू सेवा, ५०७ बालबालिकाले खोप सेवा, ४७६ जनाले अस्थायी र सात जनाले स्थायी परिवार नियोजन सेवा लिएका छन्।

अस्पतालका अहेब तथा मेडिकल रेकर्डर कर्णबहादुर बुढाका अनुसार सोही अवधिमा हर्निया, एपेन्डिक्स, लाइपोमालगायतका ३६ मेजर सर्जिकल सेवा र २०४ मध्यमस्तरका सर्जिकल सेवा प्रदान गरिएको छ।

जटिल बिरामी जिल्ला बाहिर

अस्पतालमै उपलब्ध नहुने सेवा आवश्यक पर्ने जटिल प्रकृतिका बिरामीलाई भने जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ। गत आर्थिक वर्षमा मात्रै २०३ जनालाई यसरी रेफर गरिएको अस्पतालको भनाइ छ। रेफर हुनेहरूमा हड्डी भाँच्चिएका, ब्रेन हेमोरेज भएका, जटिल पेटसम्बन्धी समस्या भएका, पत्थरी, ठूलो आकारको पाठेघरसम्बन्धी समस्या, मुटुरोग तथा एनआईसीयू आवश्यक पर्ने नवजात शिशुको संख्या बढी छ।

भौगोलिक हिसाबले विकट डोल्पाबाट यस्ता बिरामीलाई नेपालगञ्ज, सुर्खेत वा काठमाडौंसम्म लैजानुपर्ने हुँदा उपचार खर्चसँगै यातायात खर्च पनि महँगो पर्ने स्वास्थ्यकर्मी बताउँछन्। लामो र कठिन सडक यात्राका कारण गम्भीर अवस्थाका बिरामीको जोखिम अझ बढ्ने उनीहरूको भनाइ छ।

नवौं तहको विशेषज्ञ माग

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर शाहीका अनुसार हाल अस्पतालमा आठौं तहका तीन जना चिकित्सक कार्यरत छन्। विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रवाहमै समस्या हुने गरेको उनको भनाइ छ। लामो समयदेखि नवौं तहको विशेषज्ञ चिकित्सक पठाउन पटक–पटक माग गरिए पनि सुनुवाइ नभएको उनले बताए।

कर्णाली प्रदेश सरकारले हालै गरेको चिकित्सक सरुवामा पनि डोल्पाले नवौं तहको विशेषज्ञ चिकित्सक पाउन सकेन। प्रदेश सरकारले कर्णालीका अन्य हिमाली तथा दुर्गम जिल्लामा नवौं तहका चिकित्सक पठाउने निर्णय गरे पनि डोल्पामा भने पुनः आठौं तहकै चिकित्सक पठाउने तयारी गरेको भन्दै स्थानीय तथा स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएका छन्। अस्पतालमा कार्यरत दुईजना आठौं तहका चिकित्सकको सरुवा भएपछि उनीहरूको ठाउँमा पनि आठौं तहकै चिकित्सक पठाउने तयारी भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक सिजन रावल डोल्पामा आठौंसँगै नवौं तहको चिकित्सक पनि आवश्यक रहेको बताउँछन्। जिल्ला ठूलो भएकाले दैनिक बिरामीको चाप रहने र अन्य जिल्लाजस्तो सुगम नभएकाले जटिल बिरामी रेफर गर्दा उपचारसँगै यातायात खर्चसमेत धेरै लाग्ने उनको भनाइ छ। जिल्लामै कम्तीमा एक जना विशेषज्ञ चिकित्सक उपलब्ध भए जिल्ला बाहिर पठाउनुपर्ने बिरामीको संख्या घटाउन सकिने उनी बताउँछन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठका अनुसार नवौं तहका चिकित्सकको हेरफेरको विषय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले हेर्ने गर्छ। डोल्पाबाट नवौं तहको चिकित्सकको माग धेरै आएको र त्यहाँ आवश्यकता पनि रहेको भन्दै उनले सो विषय सम्बन्धित कार्यालयको क्षेत्राधिकारभित्र पर्ने बताइन्। मन्त्रालयले पठाउने भनेको आठौं तहकै चिकित्सक भएको र दरबन्दीअनुसारकै चिकित्सक अभाव रहेको उनको भनाइ छ। मुख्यमन्त्री कार्यालयमा आवश्यक सहजीकरण गरिने उनले जनाइन्।

अस्पतालको भौतिक पूर्वाधार तथा उपकरण विस्तार हुँदै गए पनि दक्ष तथा विशेषज्ञ जनशक्तिको अभाव भने कायमै छ। बिरामीको चाप बढिरहे पनि जटिल प्रकृतिका बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन्।

एक वर्षमै १५ हजारभन्दा बढीले ओपीडी सेवा लिनुले जिल्लामा स्वास्थ्य सेवाको माग र अस्पतालप्रतिको निर्भरता उच्च रहेको देखाउँछ। भौगोलिक विकटता र बढ्दो बिरामीको चापलाई ध्यान दिँदै कम्तीमा नवौं तहका चिकित्सकसहित आवश्यक विशेषज्ञ जनशक्ति तत्काल पदस्थापन गर्न स्थानीय तथा स्वास्थ्यकर्मीले प्रदेश सरकारसँग माग गरेका छन्।