इटहरी उपमहानगरपालिका–५ निवासी अस्मित चौहानकी ८ वर्षीया छोरी आस्वाना चौहानको सर्पदंशपछि समयमै सघन उपचार नपाउँदा मृत्यु भएको छ । बुधबार बेलुका सर्पले टोकेकी उनको उपचारका क्रममा विभिन्न अस्पताल धाउँदा पनि सघन उपचार कक्ष खाली नभेटिँदा ज्यान गएको हो ।
बालिका घरमा रहँदा गोमन सर्पले बायाँ हातमा टोकेको थियो । सुरुमा परिवारले सर्पले टोकेको थाहा पाएनन् । हातमा रगत देखेपछि मात्र उनीहरूले विषय बुझे र बालिकालाई इटहरीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगे ।
सेनाको उपचार केन्द्रमा एन्टी स्नेक भेनम दिइए पनि बालिकालाई सघन उपचार कक्ष आवश्यक पर्ने भएकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरियो । इटहरीको उपचार केन्द्रमा सघन उपचार कक्ष उपलब्ध थिएन ।
धरानमा उपचार सुरु भएपछि बालिकालाई तत्कालै पीआईसीयू अर्थात् बाल सघन उपचार कक्ष चाहिएको थियो । तर प्रतिष्ठानका चारवटै पीआईसीयू भरिएका कारण उनलाई भर्ना गर्न सकिएन । त्यसपछि अभिभावकले हतारहतार मोरङको बूढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा पुर्याए ।
धरानमै बालिकाको अवस्था जटिल बनिसकेको थियो र विराट पुर्याउँदासम्म अझ गम्भीर बनेको थियो । अस्पतालमा उपचार सुरु गरेको केही समयपछि बेलुका करिब साढे ८ बजे उनको मृत्यु भयो ।
परिवारको आग्रह
बालिकाका काका मनिराज चौहानका अनुसार समयमै सघन उपचार कक्ष पाएको भए आस्वानालाई बचाउन सकिन्थ्यो । इटहरीमा उपचार सम्भव नभएपछि हतारमै धरान पुर्याइएको, त्यहाँ एन्टीभेनम तयार गरी हातमा स्लाइन लगाइएको तर भेन्टिलेटरसहितको आईसीयू आवश्यक पर्ने र आफूहरूसँग त्यस्तो सुविधा नभएको बताइएको उनले जानकारी दिए । त्यसपछि विराट शिक्षण अस्पताल लगिए पनि छोरीलाई बचाउन नसकिएको उनको भनाइ छ ।
परिवारले भोगेको यस्तो पीडा अरू कसैले नभोगून् भन्ने आफ्नो चाहना रहेको मनिराजले बताए । राज्यले उपचार कक्ष विस्तार गर्नुपर्ने र सरकारी अस्पतालको सेवा सुधार गर्नुपर्ने उनको माग छ ।







