काठमाडौं, ३ कात्तिक । गत वैशाखमा काठमाडौं उपत्यकाका खोलाकिनारका बस्तीबाट हटाइएका सुकुमवासी परिवारले यसपटकको दसैं होल्डिङ सेन्टरमा बिताइरहेका छन् । नयाँ लुगा, मिठो खाना र आफ्नै घरमा परिवारसँग रमाउने पर्वको सट्टा उनीहरूको दिन फर्सी र राहतमा आएको खानामै बितिरहेको छ ।
खरिपाटी होल्डिङ सेन्टरमा बस्दै आएकी मेनुका गुरुङको परिवारमा पाँच जना छन् । विस्थापित भएको करिब छ महिना बितिसक्दा पनि उनलाई अघिल्ला दसैंको झल्को आउँछ, जतिबेला घरमा नयाँ लुगा र परिवारका लागि मिठो खानेकुरा जुट्थ्यो । यसपटक भने पर्व फर्सी खाएरै कटाउनुपरेको उनको भनाइ छ ।
होल्डिङ सेन्टरकै क्यान्टिनले केही समययता खाना दिन छोडेपछि त्यहाँका बासिन्दालाई शान्ति सेवा संस्थाले खुवाइरहेको छ । दसैंका अवसरमा संस्थाले दुई छाक कुखुराको मासु र एक छाक खसीको मासु खुवाएको गुरुङले बताइन् । त्यसपछि भने परिवारले फर्सीमै चित्त बुझाउनुपरेको छ ।
दसैं मनाउन सरकारले केही खर्च उपलब्ध गराउने आशा उनको परिवारले राखेको थियो, त्यो पूरा भएन । केही बासिन्दाले भने आफैं पकाएर खान थालेका छन् । बच्चाहरू रमाउने पर्वमा होल्डिङ सेन्टरमा कुनै उल्लास नरहेको र आफ्नै बास भए बनिबुतो वा ऋण गरेर भए पनि परिवारका लागि मिठोमसिनो जुटाउन सकिने उनले सुनाइन् ।
एउटै सेन्टर, एउटै कथा
खरिपाटी होल्डिङ सेन्टरमा अहिले ३७ घरधुरी छन् । त्यहीँ बस्दै आएकी गीता लामाको सात जनाको परिवार छ । श्रीमान् बिरामी परेको र पकाएर खाने उपयुक्त ठाउँसमेत नभएको उनले बताइन् । खाना मागेर वा थापेर खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
यता बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र परिसरमा रहेको होल्डिङ सेन्टरमा पनि दसैंको उत्साह छैन । त्यहाँ बसिरहेका राजकुमार माझीका अनुसार सेन्टरमा करिब ७०–८० जना बसिरहेका छन् । संस्थाले भात र एक छाक मासु उपलब्ध गराएको र चाहे आफैं पनि पकाएर खान पाइने उनले जानकारी दिए । उनको दुई जनाको परिवार सेन्टरमै छ ।
घर नहुँदाको पीडाले दसैंको खुसी छोपिएको माझीले गुनासो गरे । बोडेकै सेन्टरमा रहेका निरज थापाको परिवारमा सात जना छन् । सरकारले आफूहरूको समस्यामा चासो नदेखाएको उनको भनाइ छ । संस्थाले खाना दिए पनि खानेपानी र दैनिक प्रयोजनका लागि पानीको अभावले बसाइ थप कठिन बनेको छ ।
दसैंमा बच्चाले नयाँ लुगा खोजे पनि किन्न नसकेको थापाले बताए । सोही सेन्टरमा बसिरहेकी ग्रिवाणिका थापा यसपटकको पर्व उत्सवभन्दा पनि अभावको चिन्तामा परिणत भएको बताउँछिन् । पहिले आफ्नै बास हुँदा अरूकोमा काम गरेर भए पनि बच्चालाई नयाँ लुगा किनिदिने गरेको उनले सुनाइन् । अहिले काम पनि नपाइएको उनको भनाइ छ ।
दसैंमा नयाँ लुगा लगाउने, मिठो खाने र परिवारसँग रमाउने चलन भए पनि खरिपाटी र बोडेका होल्डिङ सेन्टरका विस्थापित परिवारका लागि यो वर्ष त्यो सम्भव भएन । उनीहरूको एउटै माग छ — आफ्नै बस्ने बास होस् ।







