दसैं–तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपालीको भीड कञ्चनपुरको गड्डाचौकी नाकामा उल्लेख्य बढेको छ । विगत एक महिनाको अवधिमा मात्रै करिब ५० हजार नेपाली यही नाका हुँदै घर फर्किसकेको सशस्त्र प्रहरीको भनाइ छ ।
चाडपर्व नजिकिएसँगै अहिले दैनिक करिब दुई हजार नेपाली गड्डाचौकी नाका भएर स्वदेश भित्रिरहेको सशस्त्र प्रहरीले जनाएको छ । यात्रुको चापसँगै सीमा क्षेत्रमा चहलपहल पनि बढेको छ ।
भारतको तमिलनाडुमा काम गर्दै आएका कञ्चनपुरका राम धामी दसैं मनाउन घर फर्किएका छन् । वर्षभरि परदेशमा बसेर काम गरेपछि परिवारसँग भेट्न पाउँदा उनी खुसी छन् । तर बाहिर भोगेको कष्टले स्वदेशमा रोजगारीको अभावलाई पनि झल्याँस्स बनाइदिएको छ । विदेशमा काम गर्न निकै गाह्रो हुने र सरकारले आफ्नै देशमा रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको भनाइ छ । यात्राका क्रममा सीमामा कुनै असहजता नभोगेको उनले बताए । आफन्तसँग फेरि भेटिने र सँगै दसैं मनाउन पाइने भएपछि उनी उत्साहित देखिन्छन् ।
रोजगारीको खोजीमा भारत, फर्कने बेला चाडपर्व
सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाका बासिन्दा रोजगारीका लागि भारत जाने गरेका छन् । दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा र दाङलगायत जिल्लाका नेपालीका लागि भारत आउजाउ गर्ने प्रमुख नाकामध्ये गड्डाचौकी पनि एक हो ।
यी जिल्लाका नागरिक भारतको नयाँदिल्ली, गढवाल, सिमला र चण्डीगढ हुँदै जम्मु–कश्मीरसम्म पुग्ने गर्छन् । कोही निर्माण क्षेत्रमा काम गर्छन्, कोही होटलमा । यसरी मजदुरी गरेर कमाएको रकमले उनीहरू घरखर्च चलाउने, छोराछोरी पढाउने र परिवारका आवश्यकता पूरा गर्ने गर्छन् । स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा परिवार पाल्नका लागि परदेशिनुको बाध्यता रहेको उनीहरूको भनाइ छ । वर्षभरि परिवारबाट टाढा रहने उनीहरूका लागि दसैं–तिहार आफन्तसँग भेटघाट र सुखदुःख साटासाट गर्ने अवसर बनेको छ ।
बाजुराका सुरेश नेपाली पनि दसैं मनाउन भारतबाट फर्किएका छन् । स्वदेश फर्किँदा निकै रमाइलो लागेको उनले बताए । परिवारसँगै केही दिन बिताउन पाउनु र दुःख बिर्सिन पाउनु नै उनीहरूका लागि चाडपर्वको सबैभन्दा ठूलो अर्थ हो ।
सीमामा सुरक्षा सतर्कता
चाडपर्वका बेला भारतबाट फर्किने नेपालीले सीमावर्ती क्षेत्रमा लुटपाट, ठगीलगायत आपराधिक घटनाको जोखिम भोग्नुपरेको गुनासो विगतमा आउने गरेका थिए । त्यसलाई मध्यनजर गर्दै सुरक्षा निकायले यात्रुलाई सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार चाडपर्वमा यात्रुको सहज आवागमन र सुरक्षाका लागि भारतको स्थानीय प्रशासनसँग समन्वय गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।
गड्डाचौकी नाकामा भेटिएका प्युठानका भुपाल विश्वकर्माले यात्राका क्रममा कुनै लुटपाट नभएको बताए । सतर्कता अपनाएर हिँड्दा यात्रा सहज भएको उनको अनुभव छ । घर फर्किन पाउँदा खुसी लागेको उनले बताए ।
भारतमा पसिना बगाएर परिवारको खर्च जुटाउने नेपालीका लागि घर फर्किने समय वर्षकै प्रतीक्षित क्षण हो । गड्डाचौकी हुँदै स्वदेश भित्रिने हजारौंको झोलामा वर्षभरिको कमाइ र परिवारका लागि ल्याइएका सामान छन्, मनमा भने आफन्तसँग भेटिने र दसैं मनाउने उत्साह छ । तर यही घरफिर्तीले एउटा प्रश्न पनि उब्जाएको छ– स्वदेशमै पर्याप्त रोजगारी हुन्थ्यो भने के हजारौं नेपालीले परिवारबाट टाढा रहेर वर्षभरि परदेशमा श्रम गर्नुपर्थ्यो ?







