विजयादशमीका दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने वार्षिक ब्रह्मायणी जात्रामा मध्यरातैदेखि भक्तजनको घुइँचो लागेको छ। बिहानसम्मै दर्शनार्थीको भीड मन्दिर परिसरमा उल्लेख्य रहेको छ।
नवदुर्गाको शक्तिपीठका रूपमा पुजिने यस मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वास छ। सोही विश्वासका आधारमा यहाँ परम्परादेखि नै विजयादशमीको दिन भव्य मेला लाग्ने गर्छ, आज पनि दिनभर मेला चल्नेछ। भक्तपुरवासीले घरघरबाट धिमेबाजा बजाउँदै रातैदेखि मेला भर्न थालेका थिए।
व्रत बसेका भक्तजन घरदेखि मन्दिरसम्म घस्रिएर, पल्टिएर वा शरीरमा पाँच, सात वा अठार वटासम्म दियो बालेर पुग्ने र पूजा गर्ने चलन छ। स्थानीय बासिन्दाले शरीरमा बत्ती बालेर र शरीर नापेर ब्रह्मायणीसम्मको यात्रा पूरा गरेका छन्। यस परम्पराले मनोकाङ्क्षा पूरा हुने र धर्म प्राप्त हुने विश्वास गरिन्छ।
मोहिनी नखः र कालो टीका
नेवार समुदायमा आज मोहिनी नखः मनाइन्छ। घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर अनिवार्य रूपमा मन्दिर पुग्नुपर्ने परम्परा रहेको छ।
काभ्रे, ललितपुर र काठमाडौंबाट पनि श्रद्धालु
पूजा गर्न भक्तपुरसँगै मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुलगायतका स्थानबाट भक्तजन आउने गरेका छन्। काभ्रे, ललितपुर र काठमाडौंबाट पनि श्रद्धालु यहाँ पुग्ने गर्छन्। मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका र कुखुराको भाले बलिसमेत दिने गरिन्छ।
राँगो दौडाइएपछि सुरु भयो जात्रा
गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको, महिषासुर दैत्यको प्रतीक मानिने खःमेय अर्थात् राँगोलाई मङ्गलबार साँझ जाँड खुवाएर मत्त बनाइयो। अबिर र तेल दलेर दौडाउँदै र लखेट्दै ब्रह्मायणी मन्दिरसम्म पुर्याएर बध गरिएपछि रातैदेखि यो जात्रा सुरु भएको हो।







