मुख्य सामग्रीमा जानुहोस्

डिजिटल अर्थतन्त्र र एआईलाई गति दिन चीनले स्थापना गर्‍यो नयाँ राष्ट्रिय डेटा कम्पनी

चीनले डेटा स्रोतको व्यवस्थापनमा केन्द्रित नयाँ राज्य-स्वामित्व कम्पनी स्थापना गरेको छ। उत्तरपूर्वी हेबेई प्रान्तको सिओङ्गान नयाँ क्षेत्रमा स्थापित यस कम्पनीको उद्घाटन समारोहमा उपप्रधानमन्त्री डिङ शुएशियाङ सहभागी भएका…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
डिजिटल अर्थतन्त्र र एआईलाई गति दिन चीनले स्थापना गर्‍यो नयाँ राष्ट्रिय डेटा कम्पनी
Online Khabar

चीनले आफ्नो डिजिटल अर्थतन्त्रलाई गति दिने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगलाई थप बलियो बनाउने लक्ष्यसहित डेटा स्रोतको व्यवस्थापन गर्न नयाँ राज्य-स्वामित्व कम्पनी स्थापना गरेको छ। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उत्तरपूर्वी हेबेई प्रान्तमा पर्ने सिओङ्गान नयाँ क्षेत्रमा 'नेसनल डेटा ग्रुप कम्पनी' औपचारिक रूपमा स्थापित भएको हो।

चीनले 'भविष्यको सहर' का रूपमा चिनाउँदै आएको सिओङ्गान नयाँ क्षेत्रमा यो कम्पनी राखिएको छ। नयाँ कम्पनीलाई डेटा स्रोतको विकास तथा उपयोग गर्ने, डेटा तत्त्वको मूल्य उजागर गर्ने, एआई विकासमा टेवा पुर्‍याउने र डेटा उद्योगको इकोसिस्टम प्रवर्द्धन गर्ने जिम्मेवारी दिइएको सिन्ह्वाले जनाएको छ।

मंगलबार आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री डिङ शुएशियाङ सहभागी थिए। राष्ट्रपति सी जिनपिङको नेतृत्वमा रहेको पार्टी नेतृत्वले गरेको यो निर्णयलाई उनले 'प्रमुख रणनीतिक निर्णय' भनेका छन्।

एआई विकासमा अग्रसरता लिन, 'डिजिटल चीन' निर्माणलाई गति दिन र नयाँ राष्ट्रिय प्रतिस्पर्धात्मक फाइदा निर्माण गर्न चीनका लागि यो कदम अत्यन्तै महत्त्वपूर्ण छ।

प्रविधि कम्पनी आकर्षित गर्ने योजना

बेइजिङबाट सारिएका राज्य-स्वामित्वका निकायलाई आश्रय दिँदै आएको सिओङ्गानले अब आफ्नै स्थानीय उद्योग हुर्काउने र प्रविधि कम्पनीलाई आकर्षित गर्ने रणनीति अघि बढाएको छ। साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार अधिकारीहरूले आगामी केही वर्षभित्र १० अर्ब युआनसम्मको बजार मूल्य पुग्न सक्ने र हङकङलगायत प्रमुख स्टक बजारमा सूचीकृत हुनसक्ने प्रविधि कम्पनी भित्र्याउने लक्ष्य राखेका छन्।

यसमा एआई, स्याटेलाइट इन्टरनेट र रोबोटिक्स प्रमुख लक्षित क्षेत्र हुन्। सन् २०१७ को अप्रिलमा राष्ट्रपति सीको परिकल्पनामा स्थापित सिओङ्गान बेइजिङबाट करिब १०० किलोमिटर दक्षिणपश्चिममा पर्छ। यसअघि नै चीन स्याटेलाइट नेटवर्क ग्रुप र चाइना हुआनेङजस्ता ठूला सरकारी कम्पनीले आफ्ना मुख्यालय यही क्षेत्रमा सारिसकेका छन् भने सन् २०२३ यता १५७ वटा सहायक कम्पनी यहाँ आकर्षित भइसकेका छन्।