नेपाल टेलिकमले एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ प्रविधिसहितका नयाँ इन्टरनेट प्याकेज असोज ३० गतेदेखि लागू गरेको छ । एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत सञ्चालनमा आएका यी प्याकेजको वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।
सबैभन्दा कम मूल्यको प्याकेज ३० एमबीपीएस गतिको रहेको छ, जसको वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
उच्च गतिका विकल्प
वाइफाइ ६ इन्डिभिजुअल प्याकेजअन्तर्गत उच्च गतिका तीन वटा विकल्प पनि उपलब्ध गराइएको छ । यी प्याकेजमा वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा दुवै समेटिएका छन् ।
१०० एमबीपीएस — वार्षिक ११ हजार ४९९ रुपैयाँ
१५० एमबीपीएस — वार्षिक १२ हजार ९९९ रुपैयाँ
२०० एमबीपीएस — वार्षिक १६ हजार ४९९ रुपैयाँ
सबै प्याकेजको अवधि १२ महिनाको हुनेछ । नयाँ प्याकेज जडान गराउँदा ग्राहकले कुनै शुल्क बुझाउनु नपर्ने कुरा नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल टेलिकमको यो प्याकेजबारे जानकारी गराएका छन् ।







