काठमाडौं — हर्मोनियममा औंला चलाउँदै गाइएको ‘जय अम्बे, जय अम्बे महाकाली...’ भजनको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ। झापा मेचीनगर–८ की १९ वर्षीया रोशा फुयाँलको स्वरमा रहेको यो भजन भजन गाइने कार्यक्रमहरूमा मात्र नभई टिकटक र फेसबुकमा पनि चर्चाको विषय बनेको छ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले उनका भजनका रिल्स बनाउने क्रम बढेको छ भने केही भजनका भिडियो लाखौं पटक हेरिएका छन्। रोशाका फलोअर्स पनि बढ्दै गएका छन्। सार्वजनिक कार्यक्रममा भेटिने श्रोताहरूले कम उमेरमै उनको स्वर र भक्ति धुनप्रतिको लगावको प्रशंसा गर्ने गरेका छन्।
रोशा एकाएक चर्चामा आएकी भने होइनन्। उनी ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को पहिलो सिजनमा ‘फस्ट रनरअप’ बनेकी थिइन्। १४ वर्षको उमेरमा उक्त कार्यक्रमका लागि छनोट भएर काठमाडौं आएकी उनले प्रस्तुत गरेका गीत दर्शकले रुचाएका थिए। केही वर्षयता उनी शास्त्रीय संगीतको अध्ययनसँगै भजन गायनमा सक्रिय छिन्।
बाल्यकालदेखि नै भजनको धुन
रोशाको परिवार श्री वैष्णव परम्परासँग जोडिएको छ। घरमा नियमित भजनका धुन बज्ने भएकाले उनको कानमा सानैदेखि भक्ति संगीत पर्दै आएको थियो। उनका दाई रोशन फुयाँल पनि संगीतमा रुचि राख्थे र संगीत कक्षा जान्थे। दाईले घरमा अभ्यास गर्दा रोशा पनि सँगै बसेर गुनगुनाउँथिन्। चार वर्षकै उमेरमा घरमा बज्ने भजन र दाईको अभ्यासले आफूलाई गायनतर्फ आकर्षित गरेको उनी बताउँछिन्।
सुरुमा हप्ताको एक दिन संगीत सिक्दै आएकी रोशाले १० वर्षको उमेरदेखि औपचारिक प्रशिक्षण थालेकी थिइन्। ‘सन लाइट म्युजिक स्कुल’ मा हर्मोनियमसँगै राग र बन्दिसको अभ्यास गर्ने अवसर उनले पाइन्। त्यसपछि पनि शास्त्रीय संगीतको अभ्यास निरन्तर जारी राखिन्। राग अभ्यास गर्दै हर्मोनियम बजाउने क्रममा आफू भजन गाउँदा पनि वाद्यवादन गर्न सक्ने भएको उनी सुनाउँछिन्।
पढाइमा पनि अब्बल रहेकी रोशाले संगीत र अध्ययन दुवैलाई सँगसँगै अगाडि बढाइन्। गुरुको सुझाव र सहयोगमा उनी साथीहरूसँगै ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को अडिसनमा सहभागी भएकी थिइन्। त्यतिबेला टेलिभिजनमा आफूले गाएको देखिने खुसीले मात्रै कार्यक्रममा सहभागी भएको र फस्ट रनरअपसम्म पुग्ने अपेक्षा नगरेको उनको भनाइ छ। उक्त रियालिटी शोले आफूलाई दर्शकसामु चिनाउन र संगीतलाई नै अध्ययन तथा करियरको बाटो बनाउन प्रेरित गरेको उनी बताउँछिन्।
अहिले उनी काठमाडौंको ललितकला क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्। बिहान र बेलुका नियमित रियाज गर्ने उनी संगीत नै अध्ययनको विषय भएकाले आफ्नो ज्ञान फराकिलो बन्दै गएको महसुस गर्छिन्। उनले २० भन्दा बढी गीतमा स्वर दिएकी छन् भने ३० देखि ४० वटा भजन कभर गरेको सुनाउँछिन्।
मन्दिरको आरती र ‘भक्ति सुधा’ ब्यान्ड
गत एक वर्षयता रोशा ‘श्री रामचन्द्र मन्दिर’ मा साँझको आरतीका बेला भजन गाउँदै आएकी छन्। आरतीका क्रममा उनीसहितको ब्यान्डले करिब एक घण्टा भजन प्रस्तुत गर्छ। आरतीका लागि निश्चित स्तुति र भजन तोकिएका भए पनि त्यसबाहेक नयाँ भजन र स्तोत्रसमेत गाउने गरिएको उनी बताउँछिन्। यो नियमित अभ्यासले गायन क्षमता बढाउन सहयोग गरेको उनको भनाइ छ। साँझ भजन सुन्न आउनेमध्ये युवाको संख्या पनि क्रमशः बढ्दै गएको उनले अनुभव गरेकी छन्।
युवापुस्तामा भजनप्रतिको आकर्षण बढ्दै गएपछि रोशा र उनका दाई रोशनले भजनलाई नयाँ पुस्तासम्म पुर्याउने, यसलाई छुट्टै सांगीतिक पहिचान दिने र प्रवर्द्धन गर्ने उद्देश्यले ‘भक्ति सुधा’ ब्यान्ड खोलेका हुन्। सबै युवा रहेको ६ सदस्यीय उक्त ब्यान्डले एक वर्षयता विभिन्न कार्यक्रममा भजन प्रस्तुत गर्दै आएको छ। काठमाडौंमा भएको एक भजन सन्ध्याबाट प्रस्ताव आएपछि ब्यान्डले भजन प्रस्तुति गरेको थियो, जहाँ रोशाले ‘जय अम्बे’ लगायतका भजन गाएकी थिइन्। अहिले विभिन्न स्थानबाट भजन कार्यक्रमका प्रस्ताव आइरहेको उनी सुनाउँछिन्।
सांगीतिक यात्रामा दाईको प्रेरणा र मार्गदर्शन महत्त्वपूर्ण रहेको रोशा बताउँछिन्। तबला बजाउने रोशन आफ्ना लागि अभिभावक, मार्गदर्शक र सांगीतिक सहयात्री तीनवटै रहेको उनको भनाइ छ।
कठिन सुरुवात र परिवारको साथ
संगीतमै भविष्य बनाउने सपना बोकेर रोशा र रोशन काठमाडौं आउँदाका सुरुवाती दिन सम्झँदा उनलाई नराम्रो लाग्छ। त्यतिबेला सबैले चिनेका थिएनन्, केही गीत रेकर्ड भए पनि सार्वजनिक भएका थिएनन्। मिहिनेतको फल नपाउँदा मन दुख्ने गरेको र कामपछि पारिश्रमिकका विषयमा पनि चुनौती सामना गर्नुपरेको उनी बताउँछिन्। नाम नचलेसम्म कलाकारले गरेको मिहिनेतअनुसार पारिश्रमिक पाउन गाह्रो हुने अनुभव उनले सुनाइन्।
ती चुनौतीबीच पनि संगीतप्रतिको लगाव घट्न नदिई उनी अगाडि बढिरहिन्। परिवारको साथ र सहयोग पनि निरन्तर रह्यो। वैदेशिक रोजगारमा कार्यरत उनका बुबा छोराछोरीको भविष्यलाई मध्यनजर गर्दै नेपाल फर्किएका थिए। अहिले रोशाको परिवार काठमाडौंको सुकेधारामा बस्दै आएको छ। भजन, स्टेज कार्यक्रम र सामाजिक सञ्जालबाट हुने आम्दानीले घरपरिवार चलाउन सहयोग पुगेको र संगीतकै क्षेत्रबाट आम्दानी हुँदा आफू सन्तुष्ट रहेको उनी बताउँछिन्।
श्रोताको प्रतिक्रिया र भजनप्रतिको दृष्टिकोण
रोशाको गायनबाट प्रभावित हुनेमध्ये पोखरा लेखनाथकी २१ वर्षीया समीक्षा अर्याल पनि एक हुन्। फेसबुक र टिकटकमा भजनको भिडियो भाइरल भएको देखेर आफूले उनलाई फलो गरेको समीक्षा सुनाउँछिन्। कम उमेरमै राम्रो स्वर भएकी र आफ्नै उमेर समूहका युवाले पनि यस्तो भजन गाउने रहेछन् भन्ने थाहा पाएर फलो गरेको उनको भनाइ छ। पहिले भजन उमेर ढल्केकाले गाउने र नाच्ने विधा भन्ने ठान्ने समीक्षा अहिले जहाँसुकै भजन कार्यक्रम भए पनि युवाको बाहुल्यता हुने र टिकटक तथा फेसबुकमा युवाले भजनका भिडियो बनाएको देख्दा खुसी लाग्ने बताउँछिन्।
रोशा भजनलाई केवल गाउने विधाका रूपमा हेर्दिनन्। आफ्ना लागि भजन आफूलाई आनन्दित बनाउने र अरूलाई शान्तिको अनुभूति गराउने माध्यम भएको उनी बताउँछिन्। भजनबाट पनि रमाइलो लिन, शान्ति पाउन र तनाव कम गर्न सकिने सोचका साथ आफू यसमा काम गरिरहेको उनको भनाइ छ। भाव बोकेका, भगवान्को नाम र भक्तिसँग जोडिएका भजनलाई उनी प्राथमिकता दिएर गाउँछिन्। अश्लील र असभ्य शब्द भएका गीत तथा भजन कहिल्यै नगाउने निर्णय आफूले गरेको उनी स्पष्ट पार्छिन्।
युवाले भजनलाई केवल मनोरञ्जनका रूपमा मात्र नहेर्न उनको आग्रह छ। भजनमा अझै धेरै कुरा खोज्न र सिक्न बाँकी रहेको बताउँदै उनी भन्छिन्, भजनका लागि जति ध्यान र साधना गर्दै जान्छ, त्यति नै माथि पुगिन्छ। आउँदा दिनमा पनि भजन सुन्ने हरेक व्यक्ति यसका शब्द, संगीत र भावमा रमाउन सकून् र भजनलाई आधुनिक पुस्तासँग जोड्दै यसको मौलिकता जोगाएर अघि बढ्न सकियोस् भन्ने उनको चाहना छ।






