रौतहटको गौर प्रादेशिक अस्पतालमा पछिल्लो समय उच्च ज्वरोका बिरामीको चाप बढ्दै गएको छ। भाइरल ज्वरोको संक्रमण फैलिएपछि दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
अस्पतालका सार्वजनिक स्वास्थ्य निरीक्षक पङ्कज ठाकुरका अनुसार विभिन्न उमेर समूहका बिरामी उच्च ज्वरो लिएर आइरहेका छन्। तीमध्ये बालबालिका र ज्येष्ठ नागरिकमा संक्रमणको प्रभाव बढी देखिएको छ।
अस्पताल आउने अधिकांश बिरामीको शरीरको तापक्रम १०१ देखि १०३ डिग्री फरेनहाइट वा सोभन्दा माथि मापन भइरहेको छ। भाइरल ज्वरोका लक्षण ४८ देखि ७२ घण्टासम्म रहन सक्ने भएकाले उच्च ज्वरो देखिएमा उपचारमा ढिलाइ नगर्न चिकित्सकले सुझाव दिएका छन्।
अस्पतालमा बिरामीको आवश्यक परीक्षण गरी चिकित्सकको निगरानीमा राख्ने गरिएको छ। उपचारपछि अधिकांश बिरामी निको भएर घर फर्कने गरेको ठाकुरले बताए।
जिल्लाभर संक्रमण फैलिँदै
भाइरल ज्वरोको संक्रमण गौर प्रादेशिक अस्पतालमा मात्र सीमित छैन। रौतहटका अन्य सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा पनि ज्वरोका बिरामी उपचारका लागि आइरहेका छन्।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामी बढ्दै जानुले रौतहटभर भाइरल ज्वरोको संक्रमण फैलिँदै गएको संकेत गरेको छ।
स्वास्थ्यकर्मीको सुझाव
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मी र घामबाट बच्न, पर्याप्त आराम गर्न तथा सुरक्षित खाना र सफा खानेपानीको उपभोग गर्न आग्रह गरेका छन्। धेरै चिसो पदार्थको सेवन सीमित गर्न र चिकित्सकको सल्लाहबिना आफूखुसी औषधि सेवन नगर्न पनि भनिएको छ।
ज्वरो, टाउको दुखाइ, शरीर दुखाइ, नाकबाट पानी बग्ने र कमजोरी हुनु भाइरल ज्वरोका सामान्य लक्षण हुन्। यस्ता लक्षण देखिएका व्यक्तिले तुरुन्तै स्वास्थ्य सेवा लिनुपर्ने तथा परिवारका अन्य सदस्यमा संक्रमण नफैलियोस् भन्नका लागि व्यक्तिगत सरसफाइ र अन्य सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।






