एनसेलले ग्राहकलाई डिजिटल सेवातर्फ आकर्षित गर्ने उद्देश्यले ‘सेक एन्ड विन’ नामक नयाँ अफर सञ्चालनमा ल्याएको छ। यो अफर एनसेल एपमार्फत उपलब्ध हुनेछ।
अफरअन्तर्गत ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर फोन हल्लाउनेबित्तिकै आकर्षक सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्। प्रत्येक २४ घण्टाको अन्तरालमा फोन हल्लाउँदा नयाँ उपहार पाइने कम्पनीले जनाएको छ।
यस अफरमा पार्टनर्ड सेवाहरूमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य धेरै फाइदाहरू समावेश छन्। उपहारमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच, जीवनशैली उत्पादनमा छुट तथा यात्रा र साहसिक गतिविधिमा विशेष छुटजस्ता सुविधा रहेका छन्।
एनसेलले जारी गरेको विज्ञप्तिअनुसार यो अफर एनसेल एपको प्रयोगलाई बढावा दिन तथा ग्राहकलाई डिजिटल सेवाप्रति प्रोत्साहित गर्न ल्याइएको हो। एप प्रयोगकर्ताले बारम्बार एप खोलेर फोन हल्लाउँदा नयाँ-नयाँ उपहार पाउने भएकाले यो सेवा अझ रोचक र अन्तरक्रियात्मक बन्ने कम्पनीको विश्वास छ।







