श्रीलंकाको उत्तरी टापु जिल्ला मन्नारमा जलवायु परिवर्तन अब टाढाको चेतावनी मात्र रहेको छैन । यहाँका युवाले भोग्ने टाउको दुखाइ, किसानको घट्दो उत्पादन र माछापालकले सामना गर्नुपरेको अनिश्चित मौसमले यसलाई दैनिक यथार्थ बनाएको छ ।
२० वर्षीया विद्यार्थी चेरेमिक्काका अनुसार दश वर्षअघिको अवस्था यस्तो थिएन । पहिले न्यानो हुन्थ्यो, अहिले चर्को गर्मीले पोल्ने उनी बताउँछिन् । टाउको दुख्ने, थकाइ लाग्ने, निद्रा नपर्ने र घामले छाला पोल्ने समस्या उनका लागि दैनिकी नै भएको छ । यस्तो अवस्थामा कसरी जुधिरहनुभएको छ भन्ने प्रश्नमा उनको जवाफ छ– वास्तविकता स्वीकार गर्नु र जीवन अगाडि बढाउनु ।
तर यही धैर्यतामुनि एउटा गम्भीर प्रश्न लुकेको छ– वातावरण परिवर्तनको गति समुदायको प्रतिकार्य क्षमताभन्दा छिटो हुँदै जाँदा कति समयसम्म त्यो क्षमता टिकाइराख्न सकिन्छ ?
जताततै पछ्याउने गर्मी
४३ वर्षीय वातावरण अधिवक्ता तथा कृषि क्षेत्रमा कार्यरत कुन्सोन मेरिनाथन मन्नारमा जलवायु परिवर्तनको सबैभन्दा देखिने प्रभावबारे सोध्दा हिचकिचाउँदैनन् । मानिसहरू बिरामी पर्दै गएको र आफू पनि दस दिनदेखि बिरामी रहेको उनको भनाइ छ ।
अत्यधिक गर्मीले दृष्टिमा समेत चाप पार्ने र दीर्घकालीन टाउको दुखाइ निम्त्याउने उनी बताउँछन् । लगातार चार–पाँच घण्टा घाममा रहने जो कोही बिरामी पर्ने, त्यसपछि घाँटी सुक्खा भई खोकी लाग्ने उनको अनुभव छ । तर किसान र माछापालकका लागि गर्मी छल्न कामको समय सार्ने विकल्प छैन, किनकि उनीहरूको जीविका खुला आकाशमुनिको काममै अडेको छ ।
विद्यालयमा पनि राहत छैन । बालबालिका बिहान ८ बजे पुग्छन्, तर अवस्था कष्टकर रहन्छ । मन्नारका कुनै पनि विद्यालयमा वातानुकूलन सुविधा नभएको मेरिनाथन बताउँछन् । हावा नचल्ने र बिजुली जाने समस्यासँगै बालबालिकाले दिनको करिब छ घण्टा उखरमाउलो गर्मीमा बस्नुपर्ने अवस्था छ ।
२६ वर्षीया सामाजिक विज्ञानकी विद्यार्थी अभिनया पहिले अनुमान गर्न सकिने ऋतु अहिले अचानक फेरिने गरेको बताउँछिन् । पाँच–दश वर्षअघि गर्मी र जाडो महिनाको अनुमान सजिलै गर्न सकिन्थ्यो, अहिले तापक्रमको अत्यधिक उतारचढावले वृद्धवृद्धा र साना बालबालिकालाई ज्वरो तथा रुघाको जोखिममा पारेको छ । डेंगीको त्रास पनि बढेको र स्वास्थ्यकर्मीले घरघरमा लामखुट्टाको प्रजननस्थल खोजतलास गरिरहेको उनले जनाइन् ।
यी व्यक्तिगत अनुभव हुन्, क्लिनिकल अध्ययन होइनन् । तर तापक्रम वृद्धिले दैनिक जनजीवनमा पारिरहेको असरबारे समुदाय सचेत रहेको यी भनाइले देखाउँछन् ।
फुल फुल्ने, फल नलाग्ने
मन्नार श्रीलंकाको कृषि क्षेत्रको महत्त्वपूर्ण भाग हो, जहाँ किसान मौसमी वर्षामा निर्भर छन् । मेरिनाथन आफ्नै खेतमा यसको असर प्रत्यक्ष देख्छन्– फुल धेरै फुल्ने तर फल नलाग्ने ।
गर्मीको लहर र तीव्र पराबैंगनी विकिरणसँगै स्थानीय परागमणकर्ता घट्नुलाई उनी संकटको कारण मान्छन् । तापक्रम अत्यधिक बढ्दा महुवा बाहिर लामो समय बस्न नसक्ने, बिहान आएर फेरि ओत लाग्ने र साँझ मात्र फर्किने हुँदा परागसेचन उल्लेख्य घट्ने उनको भनाइ छ । सबै कुरा वैज्ञानिक तथ्यांकले पुष्टि गरिसकेको नभए पनि संकेत त्यहीतिर देखिने उनी बताउँछन् ।
अनिश्चित मौसमले समस्या अझ बढाएको छ । वर्षाको अनुमान गर्न नसकिँदा रोपाइँको चक्र नै अस्तव्यस्त बनेको अभिनया बताउँछिन् । ५९ वर्षीय किसान जर्जले पाँच–छ वर्षयता तापक्रम बढ्दै गएको र वर्षाको ढाँचा फेरिएको देखेका छन् । बाली सफल नभए खेतमा पुनः बीउ छर्नुपर्ने हुँदा फसल हात पर्नुअघि नै लागत बढ्ने उनी बताउँछन् ।
मेरिनाथनले एउटा अध्ययनको सन्दर्भ दिँदै भनेका छन्, सन् २०३० सम्ममा विश्वमा गहुँ र धानको उत्पादन क्रमशः १६ र ३७ प्रतिशतसम्म घट्न सक्ने अनुमान छ । एउटै जमिनमा उत्तिकै मेहनत गर्दा पनि तीनमध्ये एक जनालाई खानेकुरा नपुग्ने अवस्था आउने उनको भनाइ छ । यो अनुमान मात्र हो, तर समस्याको गम्भीरता यसैले देखाउँछ ।
समुद्र पनि बदलिँदै
माछापालकका लागि समय र पानीको अवस्थाले नै बाँच्ने–नबाँच्ने निर्धारण गर्छ । मेरिनाथनका अनुसार यहाँका धेरै माछा निश्चित तापक्रमको दायरामा अभ्यस्त छन् र त्यही दायराभित्र मात्र प्रजनन, खाना र बाँच्न सक्छन् । तापक्रम दुई डिग्री सेल्सियससम्म बढ्दा उनीहरू बसाइँ सर्ने वा प्रजनन गर्न नसक्ने उनको भनाइ छ ।
सतहको पानी तात्दा समुद्री धारा पनि बदलिने र माछाको बसाइँसराइको मार्ग प्रभावित हुने उनी बताउँछन् । पहिले कुनै एक प्रजाति प्रचुर मात्रामा पाइने ऋतु हुन्थ्यो, अहिले सिजनकै समयमा पनि उत्पादन कम हुने उनको अनुभव छ । जर्जले पनि अपेक्षाअनुसार माछा नपर्ने, आम्दानी घट्ने र योजना बनाउन कठिन हुने अवस्था बताएका छन् ।
मेरिनाथनका अनुसार जलवायु परिवर्तन समुद्री जैविक विविधतामाथिको एक मात्र दबाब होइन । अत्यधिक माछा मार्ने र अवैध माछापालनजस्ता समस्यासँगै यो उत्प्रेरक र गति बढाउने तत्त्वका रूपमा काम गरिरहेको छ ।
जलवायु न्यायको प्रश्न
चेरेमिक्काका लागि मुख्य मुद्दा जलवायु न्याय हो । सबैभन्दा बढी मारमा परेकाहरूले मात्र यो भार बोक्नुपर्ने हो कि भन्ने प्रश्न उनी उठाउँछिन् । यो समस्या उत्पन्न गर्नेहरू जवाफदेही हुनुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, यो समस्या हामीले सिर्जना गरेका होइनौँ, तर यसको परिणाम सबैले भोगिरहेका छौँ ।
वायुमण्डलमा फैलिने कार्बन उत्सर्जन सीमा मान्दैन, तर त्यसको कठोर असर भने सीमित स्रोतसाधन भएका जोखिमयुक्त समुदायमा पर्छ । मन्नारका युवाका लागि जलवायु परिवर्तन टाढाको खतरा मात्र होइन, आफ्नो बसोबास योग्य रहने वा नरहने र परिवारको जीविकोपार्जन टिक्ने वा नटिक्ने प्रश्नसँग जोडिएको विषय हो ।
यी कठिनाइका बीच पनि मन्नारका बासिन्दा अध्ययन, खेती, माछापालन र परिवार पालनामा निरन्तर लागिरहेका छन् । तर धैर्यतालाई दुःखको अभाव वा विश्वव्यापी निष्क्रियताको बहानाका रूपमा लिनु हुँदैन । चेरेमिक्काको भनाइ– वास्तविकता स्वीकार गर्नु र अगाडि बढ्नु– ले बदलिँदो वातावरणमा टिक्न आवश्यक मनोबल देखाउँछ, तर यसले सजिलै बिर्सन नहुने चेतावनी पनि दिन्छ ।
मन्नारको भविष्य तापक्रमको चार्ट वा उत्पादनको तथ्यांकले मात्र निर्धारण गर्ने छैन । बालबालिकाले सहज वातावरणमा पढ्न पाउँछन् कि पाउँदैनन्, किसानले बाली भित्र्याउन सक्छन् कि सक्दैनन्, माछापालकले समुद्रमा भरोसा गर्न सक्छन् कि सक्दैनन् र आउँदो पुस्ताले आफ्नै ठाउँमा भविष्य बनाउन सक्छ कि सक्दैन भन्ने प्रश्नले नै त्यो निर्धारण गर्नेछ ।







