यस साता नेपाली संगीत क्षेत्रमा नयाँ गीत तथा एल्बमको भरपुर आगमन भएको छ । नवपुस्ताका लोकप्रिय गायक जोन राईदेखि रियालिटी शोमार्फत चर्चामा आएकी लिजेल राईसम्मले आआफ्ना कृति सार्वजनिक गरेका छन् । प्रेम, समय, गाउँ र मानवीय सम्बन्ध जस्ता विषयलाई केन्द्रमा राखेर तयार पारिएका यी सांगीतिक प्रस्तुतिले शैलीका हिसाबले पनि विविधता देखाएको छ ।
प्रेम र सम्झनाका गीत
जोन राईको नयाँ गीत ‘मायाले’ ले छोटो समयमै लाखौं श्रोताको ध्यान तानेको छ । स्वीकारोक्ति, मिलन, आधार र आस्थाको भाव बोकेको यो गीतको लय जति सशक्त छ, शब्द पनि उत्तिकै प्रभावकारी छन् । उनका गीतहरू आमरूपमा चर्चित हुँदै आएका छन् र यो गीतले पनि त्यही परम्परालाई निरन्तरता दिएको छ ।
त्यस्तै, इन्डियाको रियालिटी शो सुपरस्टार सिङ्गर २०२४ मा फस्ट रनरअप बनेकी १७ वर्षीया लिजेल राईले ‘ढुकढुकी’ बोलको गीतबाट नेपाली संगीतमा डेब्यु गरेकी छन् । गीतमा प्रेममा परेपछि मनमा उब्जने भावना र सोचका पक्षलाई मिहिन ढंगले प्रस्तुत गरिएको छ । आधुनिक शैलीका गीत रुचाउने श्रोताका लागि यो गीत उपयुक्त देखिन्छ ।
यसअघि ‘जून हेरी’ बाट व्यापक चर्चा पाएका वाङदेन शेर्पा र सुशान्त घिमिरेले पनि नयाँ सहकार्य ‘पागल पागल’ ल्याएका छन् । यो गीतमा दुवै कलाकारले आफ्नो भाग आधाआधा गाएका छन् । रोमान्टिक र जोली शैलीमा रहेको यो गीतमा उनीहरूले आफ्नै विशेष पहिचान कायम राखेका छन् । गायनमा मेलिना राई पनि सहभागी छिन् ।
गाउँ, समय र जीवनका कथा
हेमन्त राणाले कम गीत निकाल्छन्, तर उनका गीत विशेष मानिन्छन् । यसपटकको ‘साना कुरा’ मा उनले परदेश जाँदा आइपर्ने समस्या र रित्तो हुँदै गएको गाउँको पीडा उतारेका छन् । हिमालमा हिउँ नहुनु, तराईमा बीउ नहुनु र पहिरोले गाउँ नै लैजाने जस्ता दृश्य गीतमा समेटिएका छन् । यस गीतमा अर्केष्ट्राको प्रयोग गरिएको छ, जुन नेपाली गीतहरूमा विरलै देखिन्छ । दुःखान्त भाव भए पनि यसले संगीतमार्फत ठूलो सामाजिक समस्या उजागर गरेको छ ।
सर्जक विशाल गुरुङले लामो समयपछि ‘समय’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । यसअघि उनका केही ओरिजिनल गीतहरू बजारमा आइसकेका छन् । नयाँ गीतमा उनले समयका कारण उत्पन्न हुने परिवर्तन र त्यसका परिणामबारे गाएका छन् । अकोस्टिक भर्सनमा रहेको यो गीत इन्डी, रक र सोल विधाका श्रोताका लागि विशेष खुराक बन्न सक्ने देखिन्छ ।
दिपेश न्यौपाने र स्पन्दन पौडेल सम्मिलित ब्यान्ड ‘प्रोजेक्ट हामी’ले ‘बेरङ्ग’ गीत सार्वजनिक गरेको छ । यसअघि ‘हावा लैजाऊ’ गीत ल्याइसकेको यो ब्यान्डले नयाँ प्रस्तुतिमा जीवन र प्रेमका नदेखिने पाटाहरूलाई बोलेको छ । काव्यिक शब्द रहेको यो गीतले प्रेमको एउटा फरक पक्षलाई उजागर गर्दै श्रोतामाझ प्रश्न पनि छाड्छ ।
रक, अल्टरनेटिभ र भिन्न प्रयोग
काठमाडौंलाई आधार बनाएर काम गर्दै आएको ब्यान्ड ‘काठको धुन’ले चारवटा गीत समेटिएको इपी ‘गाह्रो भाको छ’ निकालेको छ । ‘मनका तनाव’, ‘आकाशको छायाँ’, ‘सुनिदेउ’ र ‘गाह्रो भाको छ’ बोलका गीतहरूमा रक र अल्टरनेटिभ रकको स्वाद छ । ब्यान्डले यी गीतहरूमा अडियोको पनि फरक प्रयोग गरेको छ । फरकफरक टेम्पोमा रहेका गीतहरूले श्रोतालाई नयाँ अनुभव दिने देखिन्छ ।
अभया सुब्बाले केही समय आफ्नो मूल विधाभन्दा बाहिर गएर अन्य विधा खोजेकी थिइन् । त्यसमा उनी पूर्ण सफल भइन्, तर आफ्नो ऊर्जा भने छुटाइरहेको महसुस गरिन् । त्यसैको पूर्तिका लागि उनले ‘ब्ल्याक एन्ड ह्वाइट’ मिनि एल्बम ल्याएकी छन् । यो एल्बमका गीतहरू फरक साउन्डमा छन् र रक शैलीको ऊर्जा समेटिएको छ ।
यसबाहेक ऋषद राईको ‘सम्मोहित’, दिलिप विश्वकर्माको ‘नजाउन छोडी’, चेयोजेनको ‘शीतल’, पलेँटीका श्रृंखलाहरू, श्रीगोको ‘जिहाडी म’, रचना रिमाल फिचर्ड ‘लैजा चरी’ र प्रशान्त कान्छाको ‘मायाले’ लगायतका गीत पनि यस साता सुन्न सकिन्छ ।

