सल्यान — गत आइतबार वर्षासँगै आएको हुरीबतासले ठूलो संख्यामा सल्लाका रूख ढालेपछि जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण तथा भित्री सडक खण्ड चार दिनदेखि अवरुद्ध छन्। ढलेका रूख समयमै हटाउन नसकिएकाले ती सडकमा यातायात सञ्चालन हुन सकेको छैन।
अवरुद्ध सडकमध्ये कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका वडा ४ र ५ तथा बागचौर नगरपालिका वडा ८ र ९ कोटमौला आसपासका खण्ड छन्। कपुरकोट वडा ५ लगायतका वडा, छत्रेश्वरीका वडा ४ र ५ तथा बागचौरका वडा ८ र ९ मा गरी दस हजारभन्दा बढी सल्लाका रूख ढलेका थिए। ढलेका रूख अझै जताततै छरिएर रहेका छन्।
सडक नखुल्दा तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। कपुरकोटमा मात्र दुई हजारभन्दा बढी, छत्रेश्वरी वडा ४ र ५ मा पाँच सयभन्दा बढी तथा बागचौरका वडा ८ र ९ मा चार सयदेखि पाँच सय परिवार प्रभावित भएको बताइएको छ। यसले गर्दा बिरामीलाई उपचारस्थलसम्म पुर्याउन र उत्पादित तरकारी बजारसम्म लग्न स्थानीयले लामो दूरी बोकेर हिँड्नुपरेको छ।
वडा कार्यालयसम्म पुग्ने सडक मात्र सुचारु
पालिका तथा वडाले वडा कार्यालयसम्म पुग्ने केही मुख्य सडक सुचारु गरे पनि बस्ती जोड्ने भित्री सडक खुलाउन सकेका छैनन्। रूख व्यवस्थापन गर्न कठिन भएकाले दुई वडाका वडा कार्यालयसम्म पुग्ने मुख्य सडक र अन्य वडाका भित्री सडक अझै खुलाउन नसकिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए।
अवरुद्ध मुख्य सडकमध्ये वडा २, ५ र ६ का सडक मात्र खोल्न सफल भएको उनको भनाइ छ। बस्तीसम्म पुग्ने भित्री सडक खण्ड भने अझै त्यसै अवस्थामा छन्। सडक खुल्न नसक्दा र विद्युत् सेवा पुनः सुचारु हुन नसक्दा पूरै पालिकाका बासिन्दा प्रभावित भएको उनले बताए।
छत्रेश्वरी र बागचौरका सडक पनि बन्द
छत्रेश्वरी गाउँपालिका वडा ५ मा सिरुवाली–काप्रेचौर–चौरपानी, लेखपोखरा–पुवाखोला–दारिमज्युला र कालिकोइरेली–नयाँगाउँ सडक अवरुद्ध रहेको अध्यक्ष फौदबहादुर बस्नेतले बताए। केही सडक रूख काटेर खोलिए पनि वडाभित्रका विभिन्न स्थानमा एक हजारभन्दा बढी रूख ढलेको उनले जानकारी दिए।
बागचौर नगरपालिका वडा ९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीका अनुसार वडाभित्र पर्ने खर्सु–बस्नेउरा, चैतेकाफल–रैजबोट–लिउरेपानी, परीलेख–धामीढुङ्गा र धामीढुङ्गा–जुगारे–गाराकोट सडकमा रूख ढलेकै कारण यातायात बन्द छ। ती सडक खुलाउने प्रयास भइरहेको उनले बताए।







