२४ असोज, भोजपुर । भौतिक तथा पर्यटकीय संरचनाको निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर वरपरको क्षेत्र फेरिँदै गएको छ । आवश्यक पूर्वाधार तयार हुन थालेपछि यो इलाका पर्यटन र व्यापारको केन्द्रका रूपमा स्थापित हुँदै गएको हो ।
स्थानीय तह, प्रदेश सरकार तथा सरोकार भएका निकायको सक्रियतामा सञ्चालित विकास निर्माणका योजना क्रमशः सम्पन्न हुँदै जाँदा च्याङ्ग्रेको स्वरूप नै बदलिएको स्थानीयवासीको भनाइ छ ।
बजारको मुख्य भागमा रहेको ऐतिहासिक च्याङ्ग्रे पोखरीको व्यवस्थित पुनर्निर्माण र सौन्दर्यीकरण गरिएको छ । पोखरीको चारैतिर पक्की पर्खाल तथा सुरक्षा घेराबार लगाइएको छ भने किनारैकिनार पर्यटक र स्थानीयवासीका लागि पैदलमार्ग बनाइएको छ । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईका अनुसार जलविहारका लागि पोखरीमा पानी बोटसमेत सञ्चालनमा आइसकेको छ ।
पोखरीको मनमोहक दृश्यले बजारमा आउने जोकोहीलाई आकर्षित गर्ने गरेको र साँझपख टहलिनका लागि यो ठाउँ प्रमुख गन्तव्य बनेको अध्यक्ष राईले बताए ।
पर्यटन लक्षित संरचना
पर्यटनलाई ध्यान दिई पोखरी नजिकै झोलुङ्गे पुल निर्माण गरिएको छ । पुलमा पुगेर पर्यटक तथा स्थानीयवासीले बजार क्षेत्रको मनोरम दृश्य अवलोकन गर्ने, तस्बिर तथा श्रव्यदृश्य सामग्री खिच्ने र रमाउने गरेका छन् ।
पोखरीको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई दृष्टिगत गर्दै किनारमा पञ्चकन्या मन्दिर निर्माण भइरहेको अध्यक्ष राईले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र पनि यही क्षेत्रमा रहेकाले च्याङ्ग्रेको योजनाबद्ध विकासमा विशेष जोड दिइएको उनको भनाइ छ । बजार क्षेत्रको सौन्दर्यीकरण र व्यवस्थित सहरीकरणका लागि पोखरीको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गरिएको र आगामी दिनमा पनि दीर्घकालीन तथा योजनाबद्ध विकासका काम निरन्तर अघि बढाइने उनले बताए ।
सडक, ढल र खेल मैदान
बजार प्रवेशको शून्य विन्दु तिवारीभञ्याङबाट च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रे भएको छ भने बजार क्षेत्रमा ढल तथा नालीको व्यवस्थापन गरिएको छ । यसले च्याङ्ग्रेलाई व्यवस्थित बजारका रूपमा विकास गर्दै लगेको स्थानीय बालिका खत्रीले बताइन् ।
विद्यालय क्षेत्रको विकास तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलगायत संरचनागत कामले पनि यो क्षेत्रलाई परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरोन्मुख ठाउँका रूपमा स्थापित गर्दै लगेको छ । खेलकुदको विकासका लागि बजार क्षेत्रमा पौवादुङमा रङ्गशाला निर्माण भइरहेको छ ।
पूर्वाधारमा आएको यो परिवर्तनले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयवासीको अपेक्षा छ । पर्यटकीय पूर्वाधार तयार हुँदै जाँदा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको उनीहरू बताउँछन् । यसले स्थानीय व्यापार, होटल व्यवसाय तथा कृषि उपजको बजारीकरण सहज बनाएको स्थानीयको प्रतिक्रिया छ ।







