प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावना बोकेको सकारात्मक मोडमा फर्काएको सरकारले दाबी गरेको छ । तर विपक्षी दलका नेताहरूले भने भ्रमणबाट भएका सहमति र वक्तव्यका आधारमा यसलाई 'औसत' भ्रमण भनेर टिप्पणी गरेका छन् ।
नयाँ दिल्लीबाट फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए । आवश्यक परे सन् १९५० को सन्धिसहित पुराना सन्धि, सम्झौता र सहमति परिमार्जन गर्न सकिने बाटो यस भ्रमणले खोलेको उनको भनाइ छ ।
'विकसित भारत : समुन्नत नेपाल' सम्बन्धी संयुक्त दृष्टि दस्तावेजले दुवै देशको सम्भावनालाई नयाँ आयाममा लैजान ढोका खोलेको मन्त्री खनालले दाबी गरे । दुई प्रधानमन्त्रीको सम्बोधनपछि संयुक्त वक्तव्य जारी हुनुले पनि भ्रमण परिणाममुखी बनेको पुष्टि हुने उनको तर्क छ ।
विपक्षीको आकलन : 'औसत'
एमाले सचिव डा. राजन भट्टराई भ्रमणका केही पक्ष सकारात्मक, केही पहिलेकै निरन्तरता र केही नयाँ क्षेत्रमा प्रवेश भएको तर केही उठाउनैपर्ने विषय छुटेको बताउँछन् । यसरी हेर्दा भ्रमणलाई औसत मान्न सकिने उनको भनाइ छ ।
परराष्ट्र मामिलाका विज्ञसमेत रहेका नेता भट्टराईका अनुसार एयर रुट, आर्थिक सहयोग, आईआईटी संस्थानको विस्तार, सीमा क्षेत्रको अर्थतन्त्र वृद्धि, क्रिकेट स्टेडियम र एकेडेमीमा सहयोग जस्ता विषय भ्रमणका सकारात्मक पक्ष हुन् । लामो समयदेखि नेपालले माग्दै आएको एयर रुटमा जुटेको सहमतिलाई उनी उपलब्धि मान्छन् । नीतिगत रूपमा भएको यो सहमति कार्यान्वयनका क्रममा प्राविधिक तहमा कसरी अघि बढ्छ भन्ने अझै टुंगो लाग्न बाँकी रहेको उनले बताए ।
एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह, रेलवे, पाइपलाइन, पुल उद्घाटन र अरुण तेस्रो जलविद्युत जस्ता विषय पहिलेकै निरन्तरता भएको उनको भनाइ छ । तर सीमा विवाद समाधानतर्फ गर्नैपर्ने काम भने यो भ्रमणले छुटाएको भट्टराई बताउँछन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादमा सरकार प्रवेश नै गर्न नचाहेजस्तो देखिएको र संयुक्त वक्तव्यमा सीमाबारे छलफल गर्ने भनिए पनि त्यो एकदमै सामान्य भाषा भएको उनको टिप्पणी छ ।
नेकपाका प्रवक्ता प्रकाश ज्वाला पनि मूल समस्या सीमा विवाद भएको र यो संवेदनशील विषयमा कुनै न कुनै निष्कर्ष निस्कनुपर्ने बताउँछन् । सीमा समस्याबारे ठोस नतिजा नदेखिएको उनको भनाइ छ । विदेश भ्रमणमै सबै विषय टुंगिन्छन् भन्ने नहुने भएकाले प्रधानमन्त्रीले भारतीय समकक्षीसँग गरेको भेटवार्ता र दुई देशको सम्बन्धबारे भएको छलफललाई सकारात्मक रूपमा लिनुपर्ने उनी बताउँछन् । तर अंगालेको शैली र अडानले भ्रमणको उपलब्धिलाई खुम्च्याएको उनको आकलन छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेल छिमेकी सम्बन्धमा देशको साझा दृष्टिकोण बनाउनुपर्ने र राष्ट्रिय हितका विषयमा सत्ता–विपक्षी भन्ने नहुने बताउँछन् । प्रधानमन्त्री देशको प्रतिनिधि भएकाले उनको भ्रमणलाई सबैले अपनत्व लिने वातावरण भने अझै बन्न नसकेको उनको भनाइ छ । भ्रमणअघि राष्ट्रपति, संघीय संसद् र दलहरूसँग कुनै परामर्श नगरिएकोमा उनी असन्तुष्ट छन् । देशको हितमा गरिने सहमतिबारे सबै दललाई जानकारी गराउँदै आएको परम्परा प्रधानमन्त्री बालेन्द्र शाहले तोडेको उनको भनाइ छ ।
कार्यान्वयनको चिन्ता
भ्रमणका उपलब्धिलाई औसत भनेका विपक्षी नेताहरूले भएका सहमति कार्यान्वयन हुने/नहुनेमा भने शंका व्यक्त गरेका छन् । आपसी समझदारी हुँदै आए पनि कार्यान्वयन फितलो रहेको विगत रहेकाले अब विश्वासिलो आधार बन्नुपर्ने महामन्त्री पौडेल बताउँछन् । त्यो अझै हेर्न बाँकी रहेको उनको भनाइ छ ।
नेकपाका नेता ज्वाला पनि सम्बन्ध सुधार र सद्भावका हिसाबले भ्रमण उपलब्धि नै भएको तर भएका सहमतिको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँछन् । समझदारी कार्यान्वयनबाटै भ्रमणको समीक्षा हुने उनको तर्क छ ।







