काठमाडौं, २१ साउन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल चलिरहेको थियो। छलफलकै क्रममा रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आफ्नो धारणा राख्दै मिलिटराइजेशन अर्थात् सैन्यीकरण शब्दावली प्रयोग गरे। सोही दलका सांसद रमेश प्रसाईंले उक्त शब्दप्रति असहमति जनाउँदै सिंहको अभिव्यक्तिको खण्डन गरे।
प्रसाईंको खण्डनलाई सिंहले व्यक्तिगत आपत्तिका रूपमा लिए। त्यसपछि सभापति हरि ढकालले सहजीकरणको प्रयास थाले।
‘बच्चा नठान्नु’ भन्दै आक्रोश
सभापति ढकालले प्रसाईंले कुनै व्यक्ति विशेषलाई लक्षित गरेर खण्डन गरेको आफूले महसुस नगरेको बताए। तर, सिंहले सो कुरा स्वीकार गरेनन्। उनले आफूले ‘सैन्यीकरण’ नै भनेको र त्यसो भन्नुको कारण के हो भन्ने प्रश्न उठाउँदै आफूलाई बालबालिकाजस्तो नठान्न आग्रह गरे।
आक्रोशका क्रममा उनले सुरक्षा निकायको संख्या प्रमाणित गर्नसमेत भने। सेना र प्रहरी कति छन् भन्ने यकिन गर्नुपर्ने उनको जोड थियो।
क्षमायाचना र मर्यादाको सवाल
सिंहको आक्रोशपछि सांसद प्रसाईंले क्षमायाचना गरे। उनले आफूभन्दा अग्रज सांसदसँग क्षमा माग्ने बताए।
सभापति ढकालले संसदीय समितिलाई खण्डन र वादविवादको थलो नबनाउन आग्रह गरे। सांसद सिंहले समितिमा राखिएका विचारलाई व्यक्तिगत रूपमा खण्डन गर्ने प्रवृत्तिले समितिको गरिमा र कार्यसम्पादन प्रभावित हुने तर्क राखे।
