भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन अब विगतको विषय भइसकेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण सकिएपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त प्रतिवेदनलाई असान्दर्भिक भएको टिप्पणी गरेका हुन्।
‘त्यो के रे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, म भन्छु त्यो त विगतको कुरा भइसक्यो। हामी यस विशेष मुद्दामा अगाडि हेरिरहेका छौं, पछाडि फर्किएर हेरेका छैनौं,’ मिश्रीको भनाइलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।
नेपाल र भारतबीचका पुराना सन्धि–सम्झौताको पुनरवलोकन गरी समयसापेक्ष सुझाव दिन दुवै देशका विज्ञ सम्मिलित समूह सन् २०१६ मा गठन भएको थियो। नेपालतर्फ पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा र भारततर्फ भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले समूहको नेतृत्व गरेका थिए। उनीहरूले सन् १९५० को नेपाल–भारत सन्धिसहित दुईपक्षीय विवादका विभिन्न पक्ष समेटेर प्रतिवेदन तयार पारेका थिए।
सो प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो। तर भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न अस्विकार गर्दै आएको जानकारहरू बताउँछन्। यही प्रतिवेदनलाई लक्षित गर्दै भारतीय विदेश सचिव मिश्रीले अब त्यसको सान्दर्भिकता सकिएको प्रतिक्रिया दिएका हुन्।







