वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तह अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्। कलेजको कार्यशैली र अभ्यासविरुद्ध लामो समयदेखि आन्दोलन जारी राख्दा पनि आफ्ना मागको सुनुवाइ नभएको भन्दै उनीहरूले एकैपटक राजीनामा बुझाएका हुन्।
चिकित्सकहरूका अनुसार गत ३१ साउनदेखि कलेजको कामकारबाहीविरुद्ध शान्तिपूर्ण धर्ना तथा आन्दोलन सुरु गरिएको थियो। करिब दुई महिना चलेको उक्त आन्दोलनका क्रममा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक छलफल भएको उनीहरूको भनाइ छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गरी बुझाइएको राजीनामापत्रमा आवासीय चिकित्सकहरूले असुरक्षित, अपमानजनक तथा विभेदपूर्ण वातावरणमा तालिमलाई निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन्। छलफलका क्रममा आफूहरूमाथि लागेका आरोप तथा भोग्नुपरेका समस्यासम्बन्धी प्रमाणहरू पनि प्रस्तुत गरिएको उनीहरूको दाबी छ।
तर सरोकारवाला निकायहरूले देखिएका समस्या समाधान गर्न नसकेको र समाधान हुने आश्वासनमात्र दिएको चिकित्सकहरूले आरोप लगाएका छन्। बारम्बार पहल गर्दा पनि सुनुवाइ नभएपछि अन्ततः सामूहिक राजीनामा दिनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
समाधानको पहल किन विफल ?
आन्दोलनका क्रममा भएका छलफलमा आफूहरूले राखेका प्रत्येक आरोपका सम्बन्धमा आवश्यक प्रमाण पेस गरिएको चिकित्सकहरूले जनाएका छन्। तर ती प्रमाणका आधारमा पनि ठोस निष्कर्ष ननिकालिएको र समस्या समाधानतर्फ प्रभावकारी कदम नचालिएको उनीहरूको गुनासो छ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय र कलेज प्रशासनसम्म पुगेर गरिएका प्रयासले पनि नतिजा नदिएपछि आवासीय चिकित्सकहरूले पद छोड्ने निर्णयलाई अन्तिम रूप दिएका हुन्। सामूहिक राजीनामासँगै कलेजको स्नातकोत्तर तहको तालिम प्रभावित हुने अवस्था देखिएको छ।







